
एजेन्सी- इंग्ल्याण्डमा जारी क्रिकेट विश्वकपको खेलमा शुक्रवार वेस्ट इन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गर्यो ।
उक्त म्याचमा वेस्ट इन्डिजका क्रिस गेलले अर्धशतक प्रहार गरे । यससँगै गेलले विश्वकपमा एउटा कीर्तिमान बनाए ।
उनले पाकिस्तानविरुद्धको खेलमा विश्वकपमा सबैभन्दा बढी छक्का हान्ने कीर्तिमान आफ्नो नाममा लेखाए । शुक्रवार नोटिंघममा उनले पाकिस्तानविरुद्ध आफ्नो अर्धशतकीय पारीमा तीन छक्का हिर्काए ।
३९ वर्षीय गेलले यस म्याचमा ३४ बल खेल्दै ५० रन बनाए । पाकिस्तान १०५ रनमै समेटिएको थियो । वेस्ट इन्डिजले खेल सात विकेटले जितेको थियो ।
विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका गेलले हालसम्म विश्वकपमा २७ म्याचमा ४० छक्का प्रहार गरेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका दक्षिण अफ्रिकाका एबी डी विलियर्सलाई पछि पारेका हुन् । उनले विश्वकपमा २३ म्याचमा ३७ छक्का हानेका थिए ।
विश्वकपमा सर्वाधिक छक्का हान्ने सूचीमा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् । उनले ४६ खेलमा ३१ छक्का हानेका थिए ।