
काठमाडौं– सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् ।
सरकारले २०७५ साल फागुन २८ गते विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाएपछिको ३ महिनाको अवधिमा ४ सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् ।
विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाएपछि उनीहरूबाट ८ थान हरितयार जफत भएको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।
प्रतिबन्ध लग्नुअघि नै आपराधिक कार्यगरेको भन्दै २०७५ वैशाखदेखि फागुन ९ गतेसम्म १ सय ९० जना कार्यकर्तालाई पक्राउ परेका थिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेकामध्ये १ सय ७२ जनालाई मुद्दा दायर गरिएको थियो । फागुन २८ गते विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाएपछि जेष्ठ १५ गतेसम्म देशैभरिबाट ४ सय २१ जना कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल लोकान्तरलाई जानकारी दिए ।
‘पक्राउ परेकामध्ये पूर्पक्षका लागि ६७ जनालाई कारागार चलान गरिएको छ, भने ८९ जना अनुसन्धानका क्रममा रहेका छन्,’ पोखरेलले लोकान्तरसँग भने ।
अहिलेसम्म ३ सय ८४ वटा मुद्दा दर्ता भएको छ, भने २ सय २९ लाई मुद्दा लागेर पनि छुटेका छन् । यस्तै समान्य सोधपुछपछि ३६ जनालाई छाडिएको प्रहरीले जनाएको छ ।
यसक्रममा विप्लवको पार्टी छाडेर सत्तारुढ नेकपामा प्रवेश गर्नेको लर्को देखिएको छ । आइतवार मात्र विप्लव समूहका पोलिटव्युरो सदस्य समेत रहेका पूर्व सांसद पदम राई नेकपा प्रवेश गरेका थिए ।
कतिको भयो मृत्यु ?
भोजपुरमा गत जेठ ८ गते प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप हुँदा विप्लव समूहका कार्यकर्ता ३२ वर्षका तीर्थराज घिमिरे मृत्यु भयो ।
काठमाडौंमा गत जेठ १२ गते बेलुका ४ः१५ बजेको समयमा बनाउँदै गरेको बम विस्फोट हुँदा सुकेधारमा कालिकोटका २७ वर्षीय दीपेन विक, बबई गाउँपालिका–३ दाङका ३३ वर्षीय गोकुल राना मगर र ४५ वर्षका निरन्तर मल्लको मृत्यु भयो । सोही समयमा काठमाडौंको अनामनगरमा प्रज्ज्वल शाहीको मृत्यु भयो ।
विप्लव समूहले गराएको विस्फोटमा परी ललितपुरको नख्खुमा एक सर्वसाधारणको मृत्यु भएको थियो । विभिन्न ठाउँमा भएका विस्पmोटका घटनामा ७ जना घाइते भएका छन् ।
कति बरामद भएका हतियार ?
विप्लव समूहका क्रियाकलापमा प्रतिबन्ध लगाइसकेपछि उनीहरूबाट साना/ठूला गरी ८ वटा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
एसएमजी २ वटा, टाइप ५४ पेस्तोल १ वटा, कटुवा पेस्तोल १ वटा र युएसए पेस्तोल १ वटा गरी ५ वटा साना हतियार बरामद भएको छ ।
यस्तै ए.एम. १६–ए २ हतियार १, एलएमजी राइफल १ नाल र ३०३ राइफल १ थान गरी ३ वटा ठूला हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म विप्लवका कार्यकर्ताबाट प्रहरीले २ सय २७ राउन्ड गोली बरामद गरेको छ ।
यस्तै १ सय १३ स्थानमा विप्लवका कार्यकर्ताले विस्फोटक पदार्थ राखेका छन् । त्यसमध्ये काठमाडौं, भोजपुरलगायतका स्थानमा गरी अहिलेसम्म १८ वटा विस्फोटका घटना भएका छन् ।
९४ स्थानमा राखिएका बमलाई प्रहरी तथा नेपाली सेनाले निस्क्रिय पारेको छ । प्रहरीको तथ्यांकअनुसार विप्लव समूहले हालसम्म १० स्थानमा आगजनी तथा तोडफोड गरेको छ ।
गृहको आह्वानपछि कतिले बुझाए हतियार ?
विप्लव समूहका क्रियाकलापलाई प्रतिबन्ध लगाएलगत्तै गृह मन्त्रालयले २०७५ फागुन ३० गते हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो ।
गृहको सूचनापछि ५ सय ११ वटा हतियार संकलन भएको प्रहरीले जनाएको छ।
३५ दिने सूचनापछि अहिलेसम्म ५ सय ११ वटा हातहतियार प्रहरीमा संकलन भएको छ ।
जसध्ये १ सय ८९ वटा अवैध हातहतियार छन् भने ३ सय २२ वटा हातहतियार वैध छन् ।
गृह मन्त्रालयले हातहतियार बुझाउन गरेको अवाह्नपछि अवैध ५ सय र वैध ४ सय ९३ राउन्ड गोली समेत गरी ९ सय ९३ राउन्ड गोली बुझाएको प्रहरी प्रधान कार्यलयको तथ्यांकले देखाउँछ ।