काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संसदमा ल्याएको बजेट विभेदकारी भएको आरोप लगाएका छन् । ६० प्रतिशत जनसंख्या भएको मधेशलाई २० प्रतिशत बजेट छुट्याएर विभेद गरिएको उनले आरोप लगाए ।
प्रतिनिधिसभामा मंगलवार आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै राजपा नेता महतोले संघीयतालाई कसरी असफल पार्ने र संघीयताको विरोध बजेटका मुख्य विशेषता भएको दाबी गरेका हुन् ।
‘संघीयता भनेको स्वायत्त, अधिकार सम्पन्न प्रदेशका लागि आन्दोलन भएको थियो । केपी ओली मार्काको संघीयता थोडी मागेको थियौं हामीले ?,’ महतोले प्रश्न गरे ।
महतोले सरकार संविधानलाई असफल पार्नेतर्फ उद्यत भइरहेको आरोप लगाए । ‘प्राप्त उपलब्धी पनि पालैपालो खोस्ने काम भएको छ । कर्मचारी भर्ती गर्दा समावेशी नगर्ने रे,’ लोकसेवा आयोगप्रति आक्रोश व्यक्त गर्दै महतोले भने, ‘केपी ओली मार्काको प्रवृत्ति छाड्नुस् !’
महतोले देशमा जनताको अधिकार, सुशासन, समृद्धि र न्यायको लागि फेरि राष्ट्रिय आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको टिप्पणी गरे ।