काठमाडौं – सुडानमा सैन्य अधिकारीहरूले नौ महिनाभित्र चुनाव गर्ने घोषणा गरेकोमा लोकतन्त्र अभियन्ताहरूले त्यसलाई अस्वीकार गरेका छन् ।
अर्धसैनिक बलहरूले विरोधीको धर्नामा चरम दमन गरेको एक दिनपछि सेनाको घोषणा आएको हो ।
उक्त दमनमा परी ३५ भन्दा बढी व्यक्ति मारिएको अनि सयौंजना घाइते भएको बताइएको छ । धर्नास्थल सुडानमा लोकतान्त्रिक सुधार ल्याउने अभियानको केन्द्र हो । दमनमा परी मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ ।
लेफ्टिनेन्ट जर्नेल अब्देल फताह अल–बुरहानले चुनावको योजना बनिसकेको र प्रमुख विपक्षी गठबन्धनसँगका सबै पूर्वसम्झौताहरू रद्द गरिएको मंगलवार बिहान बताए ।
बुरहान संक्रमणकालीन सैन्य परिषद्का नेता हुन् । राष्ट्रपति ओमर अल–बशिरको ३० वर्ष लामो कठोर र दमनकारी शासनपछि उनलाई सत्ताच्युत गर्दै परिषद्ले शासन चलाउन थालेको थियो । बशिरलाई हटाउन महिनौंसम्म विरोध प्रदर्शन भएको थियो र त्यसको चरम रूप खार्तूमस्थित रक्षा मन्त्रालयबाहिरको भव्य प्रदर्शनमा देखिएको थियो ।
विपक्षी गठबन्धन डिक्लेरेसन अफ फ्रीडम यान्ड चेन्ज फोर्सेसका नेता मदानी अब्बास मदानीले भने, ‘वक्तव्यका सबै कुरा हामी अस्वीकार गर्छौं ।’
सुधारवादी नेताहरूले नागरिक अवज्ञा अभियान झनै चर्काउने बताएका छन् ।
द गार्डियनबाट