काठमाडौं – अब्बास अली जफरले निर्देशन गरेको फिल्म भारत दक्षिण कोरियाली ओड टु माई फादरको रिमेक हो ।
फिल्ममा सलमान खानको पात्रको नाम भारत हो र यसमा भारतको ६२ वर्षे जीवनयात्रा दर्शाइएको छ । कथा शुरू हुन्छ सन् १९४२ बाट र सकिन्छ सन् २००९ मा ।
एक सामान्य व्यक्तिको कथा फिल्ममा पस्किइएको छ । आफ्नो पितालाई दिएको वचन पूरा गर्न जिन्दगीभरि संघर्ष गर्छन् भारत । भारतको व्यक्तिगत जीवनयात्रासँगै ६० वर्षमा देशमा भएको आर्थिक र सामाजिक परिवर्तन पनि फिल्ममा हेर्न पाइन्छ ।
भारत र पाकिस्तान विभाजित हुनुअघिको वातावरणबाट फिल्म शुरू हुन्छ । भारतका पिता (ज्याकी श्रोफ) आफ्नी पत्नी (सोनाली कुलकर्णी) चार सन्तानका साथ पाकिस्तानबाट भारत जान चाहन्छन् । परिवार ट्रेन चढ्न लाग्दा भारतकी बहिनी गुडिया परिवारबाट छुट्टिन्छिन् । त्यसपछि भारतका पिता उतै बसेर गुडियालाई खोज्ने निर्णय लिन्छन् । उनी भारतसँग परिवारको हेरचाह गर्ने वचन लिन्छन् ।
भारत आफ्नी आमा र भाइबहिनीसँग भारतमा फुपूको घरमा आउँछन् । फुपू राशनको पसल चलाउँछिन् र भारत जिन्दगीभरि पसल बचाएर राख्न चाहन्छन् किनकि त्यो पसल नै उनको पितासँगको अन्तिम कडी हुन्छ । कुनै दिन पिता परिवारलाई खोज्दै आउलान् भन्ने अपेक्षा भारतको हुन्छ ।
वरुण भी शर्मासँग मिलेर निर्देशक जफरले लेखेको कथा रमाइलो र चुनौतीपूर्ण छ । भारत र उनका साथी विलायती (सुनील ग्रोभर) किशोरावस्थामा द ग्रेट रसियन सर्कसमा काम गर्दागर्दै ठूला हुन्छन् । भारत स्कूटर स्टन्ट गर्न माहिर हुन्छन् । सर्कसमा काम गदाए नै उनी राधा (दिशा पाटनी) सँग प्रेममा पर्छन् ।
सन् १९८० को दशकमा भारत सर्कस छोडेर अरबी मुलुकमा काम गर्न जान्छन् । पश्चिम एसियामा तेलखानी पत्ता लागेपछि त्यतिखेर धेरै भारतीयहरू त्यहाँ काम खोज्न गएका थिए । अरबमा भारतले कुमुद (कट्रिना कैफ) लाई भेट्छन् र प्रेम गर्न थाल्छन् ।
भारतका फुपाजु (कुमुद मिश्रा) पसल बेच्न खोज्छन् र त्यसलाई बचाउन भारत विलायतीसँग मर्तेन्ट नेभीमा काम गर्न थाल्छन् । त्यसैबीचमा सन् १९९० को दशकमा मनमोहन सिंहले देशमा आर्थिक उदारीकरण ल्याएको विषय पनि उठ्छ । अनि सन् १९८३ को विश्वकप क्रिकेट भारतले जितेको र दुई सुपरस्टारहरू शाहरुख खान र सचिन तेन्दुलकरको प्रसंग पनि आउँछ ।
फिल्मको कथाले ६० वर्षको यात्रा दर्शाउने कोशिश गरेको छ । तर कतिपय स्थानमा जफरको निर्देशक निराशाजनक छ । सर्कस र अरबमा माइनिङका केही दृश्य चाहिँ गजबका छन् । तर केही दृश्यमा निर्देशकले अलि बढी नै सिनेम्याटिक लिबर्टी लिएका छन् । सिनेमाका नायक कति बहादुर छन् भनी देखाउन मात्र निर्देशकले जोड दिएका छन् ।
सलमान खानले फिल्मको पात्रमा डुब्न भरपूर कोशिश गरेका छन् । उनको यो प्रयास स्तुत्य छ । उनले बहादुरीका साथै संवेदनशीलता र दर्शकसँग भावनात्मक सम्बन्ध बनाउन सकेका छन् ।
कट्रिना कैफले राम्रो अभिनय गरेकी छन् । सुनील ग्रोभरको अभिनय जीवन्त छ । सुन्दर देखिएकी दिशा पाटनीको काम पनि राम्रो छ । तब्बुको सानो तर प्रभावशाली भूमिका छ । ज्याकी श्रोफ र कुमुद मिश्रा पनि राम्रै छन् ।
फिल्मको छायांकन मार्किन लासाकवीकले गरेका हुन् र त्यो एकदमै राम्रो छ । विशाल शेखरको संगीत सुरिलो छ । स्लो मोसन नामक गीत त हिट भइसकेको छ ।
तर फिल्म अलि लामो भयो । दुई घन्टा ४० मिनेटसम्म फिल्म तन्काइनु हुँदैनथियो ।
तपाईं सलमान खानको प्रशंसकहरू हुनुहुन्छ भने यो फिल्म नछुटाउनुस् । फिल्मको हरेक फ्रेममा सलमान छन् । तर सलमानको फ्यान हुनुहुन्न भने पनि टाइमपास गर्नका लागि फिल्म राम्रै छ ।
दैनिक भास्करमा प्रकाशित समीक्षा