
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मातहतका सबै निकायलाई सुदूर तराईमा आएको विनाशकारी आँधी प्रभावितको उद्वार, उपचार र राहत वितरण तथा अवरुद्ध सेवा सुचारुमा लाग्न निर्देशन दिएका छन् ।
विनाशकारी आँधीहुरीले प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला प्रभावित बनेकोप्रति दुुःख व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रभावितको उद्धार, उपचार र राहत वितरण तथा अवरुद्ध सेवा सुचारु गर्न सबै निकायलाई निर्देशन दिइसकेको जनाइएको छ ।
बिहीवार रातिदेखि नै सबै निकाय अलर्ट भई उद्धारको कार्यमा लागेको बताउँदै उनले अवरुद्ध सडक खोल्ने, विद्युत् सेवा सुचारु गर्न पनि सम्बन्धित निकाय लागिसकेको मुख्यमन्त्री भट्टले बताए । उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने समेत बताए ।
यसैबीच, शुक्रवार बिहानै प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा बिहान प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले घाइतेको उपचार तथा राहत वितरणको कार्य गरिने जनाए । साथै घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत भएको मन्त्री शाहले जनाए ।
मन्त्री शाहका अनुसार हालसम्म २ जनाको मृत्यु भएको छ भने कैलालीमा ७६ जना र कञ्चनपुरमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ६६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १० जना उपचाररत छन् ।
२ जनाको उपचारको लागि भारत रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार कैलाली कञ्चनपुर जिल्लास्थित विभिन्न अस्पतालमा भइरहेको मन्त्री शाहले जानकारी दिए ।