२५ जेठ २०८३, सोमबार

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

बागलुङ – मुस्ताङको जोमसोम विमानस्थल शनिवारदेखि १५ दिनका लागि बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ,’ कार्यालय प्रमुख भानु कोइरालाले भने, ‘त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।’ जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको उनको भनाइ छ ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्रे थपलगायत मर्मतको काम भइरहेको छ । ३ सेन्टिमिटर रहेको कालोपत्रमा ४ सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो । 

विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन  प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा ९ करोड रुपैयाँमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरू भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो ।

असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए । धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ ।

पोखरा–जोमसोम हवाई मार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्