
बाग्लुङ – जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्याली तथा आमसभामा सहभागी गराउन एक मेयरले आफ्ना श्रीमती र छोरीका लागि हेलिकप्टर चार्टर्ड गरेका छन् ।
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले यही जेठ २१ गते आयोजित र्याली र आमसभामा सहभागी गराउन श्रीमती छेला नेपाली र छोरी कर्मालाई हेलिकप्टरमा पोखराबाट बुर्तीबाङ ल्याएका हुन् ।
पोखराबाट उडेको हेलिकप्टर मेयर नेपालीकै घरको छतमा ल्याण्ड गरेको थियो । ८ तले घरको छतमा मेयर नेपालीले हेलीप्याड नै निर्माण गरेका छन् ।
मेयर नेपालीको घरको घतमा नै हेलिकप्टर ल्याण्ड गरेको स्थानीय प्रहरीले पनि पुष्टि गर्यो ।
विभेदविरुद्ध घन्कियो नारा
जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित र्यालीमा करीब ५ हजार जना सहभागी भएका थिए ।
र्यालीले विभेदविरुद्ध नारा तथा नगरा घन्काउँदै बुर्तिवाङ बजार परिक्रमा गरेको थियो ।
दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमासमेत देख्न मुस्किल हुन्छ ।
सो अवसरमा मेयर नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले नगरपालिकामा खरको छानो र छुवाछुत हटाएरै छाड्ने संकल्प गरे ।
ढोरपाटन नगरपालिकामा जत्तिको सुशासन देशको कुनै नगरपालिकामा नरहेको उनको जिकिर थियो ।
'एउटा दमाइँको छोरो नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन्,' मेयर देवकुमारले भने, ‘तर हाम्रो नगरपालिकामा जति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला ।'
भ्रष्टाचार गरेको प्रमाण कसैले देखाए झुण्डिएर मर्न तयार रहेको उनको भनाइ छ ।
सरकारबाट तलब भत्ता समेत नलिने घोषणा गरेका मेयर नेपालीले दलितहरू गैरदलितभन्दा कुनै कुरामा कमजोर नरहेको जिकिर समेत गरे ।
उनले पाँच सय दलित/गरीबको घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन् ।
५८ जना शिक्षकलाई तलब दिएर राखेको बताउने मेयर नेपालीले क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षय कोष समेत निर्माण गरेका छन् ।
र्यालीपछि आयोजित सभामा बोलमाया तथा गलबन्दी गीतका गायक/श्रष्टा प्रकाश सपूतले समेत आफ्नो प्रस्तुती दिएका थिए ।