२७ असार २०८३, शनिबार

कर्णाली सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने

कर्णाली सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने
फाइल फोटो

जाजरकोट- पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ ।

सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले छ जना प्राविधिक विज्ञको टोलीलाई परिचालन गरेको छ ।  

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा निर्माण गर्न लागिएको पर्यटन गुरुयोजना निर्माणमा कार्यरत प्राविधिकको टोली अहिले कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटिरहेका छन् । यसैक्रममा जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा योजना छलफल भएको छ । 

जाजरकोटमा भएको छलफलबाट ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका झण्डै ७५ वटाभन्दा बढी पर्यटकीयस्थलको नाम सूचीकृत गरिएको पर्यटन गुरुयोजना निर्माणका समूहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिए ।  

त्यसैगरी उक्त छलफलले साहसिक पर्यटनका लागि र्‍याप्टिङ र पदमार्गलाई छनोट गरेको छ । जाजरकोटको परिबगरदेखि छेडाचौरसम्म भेरी नदी जलयात्रा छनोट गर्ने क्रममा रिम्ना र छेडाचौरलाई जलयात्राको बास स्थान छनोट गरिएको समूहका प्रमुख सेडाइँले बताए ।  

भेरी नदी आसपासमा रहेका तल्लुबगर, मन्मै, कालीमाटी, रिम्ना, कालेगाउँ, कुदु, फेरा, आलीलगायतका ठाउँमा होटल, भलिबल तथा ब्याटमिन्टन फिल्डलगायतका विभिन्न मनोरञ्जनात्मकस्थल बनाउन प्रस्ताव गरिएको छ । गोष्ठीले जुम्ला र डोल्पालाई जोड्न चाखुरे र नदईडाबलाई पदमार्गमा छनोट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्