
काठमाडौं- प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जीतको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो ।
आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालिस बल खेलेका उनले दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका हुन् ।
त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीलाई सहजै समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार/चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।