
बुटवल- सिद्धार्थनगर नगरपालिकाले वडा नं. ५ मा साढे ९ करोड लागतमा कृषि बजार सञ्चालनका लागि अत्याधुनिक बहुउद्देश्यीय सामुदायिक भवन बनाउने भएको छ ।
छरिएर रहेको तरकारी बजारलाई व्यवस्थित गरी एकै ठाउँमा राख्ने र खुद्रा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि बजार भवन बनाउन लागिएको हो ।
भवनको शनिवार एक समारोहबीच प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले शिलान्यास गरे । कुल ९ करोड ५८ लाख ५२ हजार रुपैयाँ लागतमा बन्ने भवन बहुउद्देश्यीय हुनेछ ।
२५ महिना अर्थात् ३० जुन २०२१ मा सक्ने गरी भवनको नगरपालिकाले काठमाडौंको स्काई/रामसागर जेभीसँग ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय प्रमुख ख्यामबहादुर थापाले बताए ।

प्रदेश पाँच सरकार र तराई-मधेश समृद्धि कार्यक्रमको १–१ करोड सहयोग तथा बाँकी नगरपालिकाको आन्तरिक स्रोतबाट भवन बनाउन लागिएको हो । ७ हजार १४५ वर्गफीटमा बन्ने ४ तल्लाको भवनमा कृषिसँगै अन्य घरायसी सामान र फिल्म हल समेत बनाइने छ । पहिलो तल्लामा कृषि बजार र खाद्यान्न सामाग्राी, दोस्रोमा फेन्सी तथा कस्मेटिक पसल, तेस्रोमा इलेक्ट्रिकल्स सामान र चौथोमा कन्फ्रेन्स हल, फिल्म हल बन्ने नगर प्रमुख हरिप्रसाद अधिकारी जानकारी दिए । भवनमा लिफ्ट समेत जडान गरिने उनले बताए ।
विगत लामो समयदेखि यहाँ हप्तामा दुईपटक कृषि हाट बजार सञ्चालित हुँदै आएको थियो । साँघुरो ठाउँमा पनि धेरै खुद्रा व्यापारीले तरकारी लगायत उपभोग्य सामान बिक्री गर्दै आएका थिए । यसलाई व्यवस्थित गर्न नगरपालिकाले बहुउद्देश्यीय भवन बनाउन लागेको हो । यसले छरिएर रहेका व्यवसायीलाई एकै ठाउँमा ल्याउन मद्दत त गर्ने छ नै व्यवसायीले जथाभावी फ्याँक्दै आएको फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । यसका साथै उपभोक्तालाई एकै ठाउँमा धेरै वस्तु खरिद गर्न सहज हुने नगर प्रमुख अधिकारीले जनाए ।
शिलान्यास समारोहमा सांसद घनश्याम भुसालले लुम्बिनी संसारकै सबैभन्दा बढी सम्भावना भएको ठाउँ भएको बताए । उनले लुम्बिनीलाई व्यवस्थित र योजनाबद्ध ढंगले अगाडि बढाएमा राज्यले धेरै फाइदा लिन सक्ने पनि बताए । उनले समथर फाँटमा रहेको लुम्बिनी क्षेत्र अनि केही मिनेटमै पुग्न सकिने पाल्पाको डाँडाहरूमा जब गोरखपुरदेखि मान्छेहरू साँझ बास बस्न आउँछन्, तब यहाँको पर्यटन बजार फस्टाउने बताए ।
भुसालले कृषि बजार भवन बनेपछि यहाँ किसानको उत्पादन सिधै बजार ल्याउन सहज हुने र उपभोक्तालाई एकै ठाउँमा खरीद गर्न सहज हुने बताए । नेकपा नेता समेत रहेका भुसालल क्षेत्रको एकीकृत विकासमा आफू लागिपरेको जनाए ।