२२ असार २०८३, सोमबार

मुख्य मन्त्री आए, केटाकेटी पढाए !

जेठ २६, २०७६
मुख्य मन्त्री आए, केटाकेटी पढाए !

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा विद्यार्थीलाई पढाउन भ्याएका छन् । १५ मिनेट मन्तव्य दिएका मुख्यमन्त्री शाहीले विद्यार्थीहरुलाई सज्जन बन्न आग्रह गरे ।

‘कस्तो मान्छेले सम्मान पाउँछ ? कस्तो व्यवहार देखाए राम्रो मान्छे बनिन्छ ?’ विद्यार्थीहरूसँग सवालजवाफ गर्दै मुख्यमन्त्री शाहीले प्रश्न सोधे, ‘नमस्कार गरे, संस्कार अनुसार अघि बढे, अनुशासित बने माया पाइन्छ ।’

उनी यतिमै रोकिएनन्, ‘कक्षाकोठा सफा राख्नुस्, बाटो सफा राख्नुस्, घर सफा राख्नुस्,’ उनले थपे, ‘सबै ठाँउ सफा राखे चिल्लो सडक हुन्छ, सफा आँगन, विद्यालय हुन्छ । अनिमात्र सफा शहर हुन्छ । अहिले वीरेन्द्रनगर कस्तो छ ?’ विद्यार्थीले जवाफ दिए, ‘फोहोर छ ।’

मुख्यमन्त्री शाहीले चामल, दाल, नुन, तेल, ग्यास सबै भएपनि आफैले पकाएर खान नजान्नेको संख्या बढेको बताए । ‘हामीलाई व्यवहारिक, व्यवसायिक, वैज्ञानिक शिक्षा चाहिन्छ । किताब लेखेर मात्रै देश बन्दैन के गरे देश बन्छ ?’ विद्यार्थीले जवाफ फर्काए, 'काम गरे देश बन्छ ।'

मुख्यमन्त्री शाहीले पकाएर खाने शिक्षा चाहिएको बताउँदै पाठ्यक्रम परिवर्तन गर्नुको विकल्प नरहेको बताए । बालबालिका उदाँउदो सूर्य भएको बताउँदै समृद्ध कर्णाली बनाउने अभियानमा जहाँ सकिन्छ, जति सकिन्छ सहभागी हुन सबैलाई आग्रह गरे ।

‘प्रदेश निर्माणको अभियानमा सबैको साथ सहयोग र सक्रियता आवश्यक छ,' मुख्यमन्त्री शाहीले भने, ‘त्यसका लागि आजैबाट कक्षाकोठामा, घरमा समृद्ध कर्णालीका लागि बहस गरौं छलफल गरौं ।’

तर मुख्यमन्त्री शाही सहभागी कार्यक्रम शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित ‘महिला हिंसा र लागू औषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम तथा सडक सुरक्षा कार्यक्रम थियो । आन्तरिक मामिला तथा योजना मन्त्रालयको आर्थिक सहयोग रहेको उक्त कार्यक्रमको आयोजना भने प्रदेश प्रहरी कार्यालय रहेको थियो ।

‘मुख्यमन्त्री आए केटा केटी पढाए गए,’ कार्यक्रममा सहभागी रमेश शाहीले भने, ‘विषयवस्तु भन्दा फरक मन्तव्य दिए अनि गए ।’

उनले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै मन्तव्य दिएको आरोप लाग्यो । ‘कम्तिमा कार्यक्रमसँग सम्बन्धित केही कुरा राख्नुपर्ने थियो,’ उनले भने, ‘विदार्थीलाई पढाएर ताली पाए । अब मुख्यमन्त्री शाहीले हरेक विद्यालयको कक्षा कोठामा गएर अध्यापन गराए राम्रो हुने मेरो अपेक्षा छ ।’

salt training

कमेन्ट गर्नुहोस्