२१ जेठ २०८३, बिहीबार

सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन सकियो, कर्णालीको समृद्धिका लागि कोसेढुंगा बन्ने सरकारको अपेक्षा

जेठ २६, २०७६
सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन सकियो, कर्णालीको समृद्धिका लागि कोसेढुंगा बन्ने सरकारको अपेक्षा

सुर्खेत- कर्णाली प्रदेश सरकारको सर्वाधिक महत्त्वाकांक्षी योजना सुर्खेत–हिल्सा लोकमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । चाइना रेल्वे इन्जिनियरीङ कम्पनीले आफ्नै लागतमा सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा गरी प्रदेश र संघ सरकारलाई प्रतिवेदन बुझाएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको चीन भ्रमणका बेला चाइना रेल्वे इन्जिनियरिङ कम्पनीसँग एमओयू गरिएको थियो । एमओयूपछि चिनियाँ कम्पनीले हवाई र स्थलगत सम्भाव्यता  अध्ययन (फिजिविलिटी स्टडी) गरेको थियो ।

अध्ययनपछि कर्णाली प्रदेश सरकार र संघ सरकारलाई प्रतिवेदन बुझाएको छ । त्रिदेशीय महत्वको सुर्खेत-हिल्सा सडक ४ सय ३ किलो मिटर रहने प्रतिवेदनमा उल्लेख गरिएको छ । आधा दर्जनभन्दा बढी स्थानमा पुल निर्माण गर्नुपर्ने, सडक दुई लाइनको बनाउनुपर्ने जस्ता विषय प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

कर्णाली सरकारसँग एमओयू गरेपछि चिनियाँ कम्पनीले एक महिना सम्भाव्यता अध्ययन गरेको थियो । २० जना इन्जिनियरको टोलीले अध्ययन सकेर प्फ्रातिवेदन बुझाएका छन् ।

‘सुर्खेत हिल्सा सडक नेपालका लागि मात्र नभई छिमेकी देश भारत र चीनका लागि पनि निकै उपयोगी सडक बन्नेछ । मानसरोवर र कैलाश पुग्ने तिर्थयात्री तथा पर्यटकका लागि निकै उपयोगी हुनेछ,'  मन्त्री ज्वालाले भने, ‘भारतबाट वर्षेनी लाखौको संख्यामा मानसरोवर पुग्नेछन् र यसले कर्णालीको समृद्धिमा ठूलो योगदान दिनेछ ।’

कर्णाली करिडोरको निर्माण कार्य सम्पन्न भएपछि सुर्खेतबाट हिल्सा ९ देखि १० घण्टाको हुनेछ । सडकको अवस्था राम्रो बनाउन सके भारतीय र अन्य तेस्रो मुलुकका पर्यटकहरू यही मार्ग भएर मानसरोवर कैलाश पुग्ने मन्त्री ज्वालाको भनाई छ ।

‘संघीय सरकारले पनि यो मार्गका लागि बजेटको व्यवस्था गरेको छ,' मन्त्री ज्वालाले भने, ‘यो सडक निर्माण सम्पन्न गर्नसके कर्णालीको मुहार नै बदलिनेछ । एक नौलो इतिहासको रचना हुनेछ ।’

यद्यपी अहिले नै सबैकुरा अन्तिम अवस्थामा नपुगेको मन्त्री ज्वालाको भनाई छ । ‘अहिले कम्पनीले अध्ययन गरेर डिपीआर बनाएर दिएको मात्रै हो,' उनले भने, ‘अब सरकारले यो कार्यलाई अगाडि बढाएको खण्डमा सुर्खेत-हिल्सा सडक बन्नेछ र कर्णालीका जनताको आर्थिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्