२० असार २०८३, शनिबार

मेयरले ‘नाक भाँच्ने’ धम्की फिर्ता लिए, आँधीहुरी पीडितलाई राहत दिने प्रदेश सरकारको घोषणा

मेयरले ‘नाक भाँच्ने’ धम्की फिर्ता लिए, आँधीहुरी पीडितलाई राहत दिने प्रदेश सरकारको घोषणा

काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले आँधीबेहरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । 

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आँधीबेहरीका कारण पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही रु २० हजार र आंशिक क्षति पुगेका परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।   

    यसैगरी पशुपक्षी र कृषिमा पुगेको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर विषयगत मन्त्रालयले राहत वितरण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । गत बिहीबार राति आएको भीषण आँधीबेहरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने ७६ जना घाइते भएका थिए । 

    घाइतेमध्ये तीन जनाको जिल्ला बाहिरका अस्पतालमा र अन्य छ जनाको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ६६ जना भने उपचारपछि घर फर्किएका छन् । 

कोरियाली भाषा परीक्षामा ८४ हजार सहभागी, १५६ पक्राउ
 
सन् २०१९ को कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा शनिबार र आइतबार एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ । 

    शनिबारको भाषा परीक्षार्थी ४६ हजार १९६ परीक्षार्थी सहभागी भएका थिए । दुई दिनको परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाई गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको निर्देशक खनालले जानकारी दिए ।
 
सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । तीमध्ये २० जनाको आवेदन रद्द भएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । 
 
प्रधानमन्त्री जेनेभामा 

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा आइतबार स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् ।  जेनेभा अन्तरराष्ट्रि«य विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्र« सङ्घ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि  स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी,  जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गरेका थिए । 

     प्रधानमन्त्री ओली जेनेभामा  भइरहेको अन्तर्राष्ट्रि«य श्रम सङ्गठन(आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको भ्रमणमा गएका हुन् ।  प्रधानमन्त्री ओलीले आइएलओको शतवार्षिकी समारोहलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । 

काँग्रेसको जागरण अभियान 

नेपाली काङ्ग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई सम्पन्न भएको बताएका छन् । 

नाक भाँच्ने धम्की फिर्ता 
पत्रकारको नाकको डाँडी भाँच्न १ करोड छुट्याएको छु भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो कुनै उद्देश्य नरहेको प्रष्ट पारेका छन् । आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै चौधरीले प्रेस जगतलाई आघात पुग्न गएको विचार फिर्ता लिन चाहेको बताएका छन् ।

‘मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन,’ विज्ञप्तिमा चौधरीले उल्लेख गरेका छन्, ‘एकजना पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाईहरूबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोट प्रति दुख व्यक्त गर्छु ।’

मेयर चौधरीले इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको पनि बताएका छन् । आफू भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको अभियानमा रहेको र यो अभियानमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको चौधरीले बताएका छन् ।

प्रशासकीय अधिकृत निलम्बित

    सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । 

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेको कारण देखाउँदै कार्कीलाई निलम्बन गरेको हो ।

    विभागको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्याद पनि गुजारेको कारण राख्दै निजामती सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम सो अभियोगको जाँच बुझ गर्ने प्रयोजनका लागि दफा ६४ (३) बमोजिम दुई महीनाका लागि निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाद्वारा जेठ २४ गतेको हस्ताक्षरित पत्रमा उल्लेख छ । 
करणी आरोपमा युवक पक्राउ

    विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५ वर्षीय विवेक भन्ने दिव्य पौद्धारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । निजले विराटनगर–१४ की १६ वर्षीया एक युवतीलाई विवाह गर्छु भनी ललाइफकाई गत वैशाख १० गते कोठामा लगी करणी गरेका थिए । 
वाग्मतीको कार्यालयअघि नै फोहर 

    वाग्मती सफा बनाउन २५ वर्षअघि स्थापित अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघि नै फोहर भएपछि स्थानीयवासी सफाइमा जुटेका छन् ।

    गुह्येश्वरी मन्दिर अगाडिको चौर र वाग्मतीको उद्यानमा सफा गरी त्यहाँ जम्मा भएको फोहर व्यवस्थापन गरिएको वाग्मती अभियानकर्मी पद्मराज रेग्मीले जानकारी दिए ।
 गुह्येश्वरी युवा क्लबको नेतृत्वमा यहाँ सफाइ अभियान चलाइएको हो । वाग्मतीलगायत उपत्यकाका नदी सफा गर्ने कार्यादेश पाएको कार्यालयले आफ्नै अघिसमेत सफा गर्न सक्दैन भने अन्यत्र कसरी गर्ला भन्ने प्रश्न उब्जिएको स्थानीयवासी रामशरण पाण्डेले गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्