
धनगढी – अत्यधिक गर्मीका कारण कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय ४ दिन बन्द हुने भएका छन् ।
गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ ।
टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी जेठ ३२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले अत्यधिक गर्मीका कारण ४ दिनमा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
‘गर्मी अत्यधिक भएर विद्यार्थीको पठनपाठनमा समस्या हुन थालेपछि हामीले सरोकारवाला निकायसँग छलफल गरी ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ रावलले भने ।
टीकापुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ७२ वटा विद्यालय रहेका छन् । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा जनजीवन प्रभावित भइरहेको छ ।