
काठमाडौँ - हुवावेले आफ्नो सम्बन्ध चीन सरकारसँग रहेको अस्वीकार गरेको छ । प्रविधिलाई कहिल्यै पनि चीन या अन्य देशले 'खतरा' उत्पन्न गराउने चीज भनी विश्लेषण नगरेको हुवावेको साइबर-सुरक्षा प्रमुख जोन सफोकले बताएका छन् ।
सुल्फोकले हुवावेको उत्पादनलाई विश्लेषण गरेर इन्जिनीयरिङ या कोडीङमा खराबी पत्ता लगाएकोमा बाहिरी नागरिकलाई स्वागत गरे । 'हामी संसार अगाडि नांगै उभिरहेका छौं,' सफोकले भने, 'तर हामी हाम्रो उत्पादनलाई अझै राम्रो बनाउन सक्षम कसरी हुन्छौं हामीलाई त्यही गर्न मन पर्छ ।'
उनले थपे, 'हामी चाहन्छौं कि मान्छेहरूले नयाँ चीजको खोजी गरून्, त्यो चाहे एकमा पाइयोस् या हजारमा पाइयोस् । हामीले जे प्राप्त गरेका छौं त्यसमा हामीलाई कत्ति पनि ग्लानी छैन ।'
बेलायती संसदको प्रविधि र विज्ञान चयन समितिले हुवावेका उत्पादनको सुरक्षा संयन्त्र र चीन सरकारसँगको सम्बन्धलाई लिएर सांसदहरूसँग सवाल जवाफ गर्न हुवावेका प्रतिनिधिलाई बोलाएको थियो ।
संसारकै सबभन्दा ठूलो टेलिकम उपकरण निर्माता हुवावका उपकरणहरू प्रयोग नगर्न संयुक्त राज्य अमेरिका र युरोपका कतिपय देशहरूले आफ्नो ५ जी नेटवर्क कम्पनीहरूलाई आग्रह गरेका थिए । उनीहरूको डर चीन सरकारले यी उपकरणहरू निगरानीका लागि प्रयोग गर्न सक्छ भन्ने छ ।
'हामीलाई कहिल्यै पनि चीन सरकारले कुनै गलत कदम चाल्न अनुरोध या निर्देशन दिएको छैन,' सफोकले भने, 'हाम्रा उपकरणहरूको सुरक्षा कमजोर बनाउने उद्देश्यले चिनियाँ मात्र होइन, अन्य कुनै पनि सरकारले हामीलाई अनुरोध या निर्देशन गरेका छैनन् ।'
-एजेन्सीको सहयोगमा