
खोटाङ – चट्याङबाट सुरक्षित रहन जिल्लाको केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा चट्याङ प्रतिरोधी उपकरण जडान गरिएको छ ।
गाउँपालिकाको २ लाख रुपैयाँ र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको २ लाख ५३ हजार ५ सय रुपैयाँको सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो ।
गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८ सय मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमिनभित्र निस्क्रिय (डिस्पोज) गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । ‘चट्याङले यस क्षेत्रमा बर्सेनि मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ,’ उनले भने, ‘आगामी दिनमा चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न चट्याङप्रतिरोधी उपकरण जडान गरिएको हो ।’
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अतिप्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ । यसअघि चट्याङ लागेर बाक्सिला बजारमा सञ्चालन भएको नवौं संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो ।
भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्दछ । चट्याङले जिल्लामा सञ्चालित २ रेडियो रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियोमा बर्सेनि लाखौंको क्षति पुर्याउने गरेको रेडियो सञ्चालकले बताउँदै आएका छन् ।
चट्याङकै कारण उपकरणमा ठूलो क्षति पुगेपछि अहिले रुपाकोट सामुदायिक रेडियो बन्द रहेको छ । ऋण काढेर जडान गरिएको उपकरणमा चट्याङले बर्सेनि क्षति पुर्याएपछि रेडियो सञ्चालक हैरानीमा पर्दै आएका छन् । चट्याङले निरन्तर क्षति पुर्याएपछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेका स्थानीयवासीले भने आफ्नै लगानीमा उपकरण खरीद गरेर प्रत्येक घरमा अर्थिङ गरेका छन् ।
आफू बस्ने घरमा कम्तीमा अर्थिङ मात्र गरेपनि चट्याङको जोखिम कम हुने जनाइएको छ ।