
काठमाडौं – विश्वकपको १८औं म्याचका रूपमा भारतको प्रतिस्पर्धा बिहीवार न्युजील्यान्डसँग हुँदैछ । दुवै टोलीले यो विश्वकपमा एउटा खेल पनि हारेका छैनन् ।
नटिंघममा भारत लगातार तेस्रो अनि न्युजील्यान्ड लगातार चौथो जीतको आशा गरिरहेको छ । यस मैदानमा यी दुई टोली दोस्रोपटक भिड्दैछन् र अघिल्लोपटक न्युजील्यान्डले भारतलाई पाँच विकेटले हराएको थियो ।
भारतीय टीम यस खेलमा आफ्ना नियमित ओपनर शिखर धवन विना नै खेल्नेछ । अस्ट्रेलियाविरुद्धको अघिल्लो खेलमा उनको बूढी औंलामा चोट लागेको थियो । धवनको ठाउँमा लोकेश राहुललाई ओपनिङ गर्न पठाइनेछ ।
चौथो नम्बरमा दिनेश कार्तिक र विजय शंकरमध्ये एकलाई मौका दिन सकिन्छ ।
यस विश्वकपमा भारतले दुई बलिया टोली दक्षिण अफ्रिका र अस्ट्रेलियालाई हराएको छ भने न्युजील्यान्डले श्रीलंका, बंगलादेश र अफगानिस्तानको चुनौती पन्छाएको छ ।
यी दुई टीमबीच १०६ वटा एकदिवसीय खेल भएका छन् । तिनमा भारतले ५५ अनि न्युजील्यान्डले ४५ जीत हासिल गरेका छन् । एउटा म्याच टाई भयो भने पाँचवटा म्याचमा कुनै परिणाम आएन ।
विश्वकपमा यिनीहरूले सातवटा खेल खेलेकोमा न्युजील्यान्ड चार अनि भारत तीनपटक विजयी भएको छ ।
नटिंघममा बिहीवार पानी पर्ने सम्भावना छ । म्याच अवधिभर बादल लाग्न सक्छ । तापक्रम ११ देखि १२ डिग्रीमा रहनेछ । टस जित्ने टीमले बलिङ रोज्न सक्छ । चेज गर्दा पिचले सहायता गर्ने सम्भावना छ ।
भारतका लागि रोहित शर्मा र विराट कोहलीले राम्रो ब्याटिङ प्रदर्शन गरिरहेका छन् । अनि बलरहरूले पनि उत्कृष्ट प्रदर्शन देखाएका छन् । दक्षिण अफ्रिकालाई २२७ रनमा रोकेर अनि अस्ट्रेलियाविरुद्ध ३५२ रनको स्कोरलाई डिफेन्ड गरेर भारतीय बलरहरूले आफूलाई साबित गरेका छन् ।
धवन चोटग्रस्त भएर खेल्न नसक्ने हुँदा राहुलले ओपनिङ गर्नेछन् र रोहितसँगको उनको जोडी कस्तो जम्छ भनी हेर्न बाँकी छ । राहुलले अहिलेसम्म १६ वानडे खेलेका छन् । यसक्रममा उनले ५६ को औसतमा २८० रन बनाएका छन् । करीयरको एक मात्र शतक पनि उनले यस क्रममा बनाए ।
न्युजील्यान्डमा रोस टेलर र केन विलियम्सनले राम्रो ब्याटिङ गरिरहेका छन् । अझ न्युजील्यान्डका फास्ट बलरहरू लोकी फर्ग्युसन, म्याट हेनरी र जेम्स नीशमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनीहरू आजको खेलमा निर्णायक भूमिकामा रहने सम्भावना छ ।
एजेन्सी