
महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–८ वनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रवार बिहान जेसीबीले ठक्कर दिँदा अटोरिक्सामा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नम्बरको जेसीबीले ठक्कर दिँदा मे१ह ७६३ नम्बरको अटोरिक्सामा सवार १ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अटोमा सवार ५ जना घाइते भएका छन् । घाइतेको महेन्द्रगरनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हँुदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुन नसकेको जानकारी दिए । उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताए ।
दुर्घटनामा घाइते भएका भीमदत्त नगरपालिका–१० का १८ वर्षीय जगदीश पार्की, बैतडी देहीमाडौंका ३२ वर्षीय लक्ष्मी बोहरा, उनका ३ वर्षीय छोरा निशान्त बोहरा, भीमदत्त नगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।