
काठमाडौं – नाना पाटेकरले आफूसँग फिल्म खेल्ने तनुश्री दत्तालाई यौन दुर्व्यवहार गरेको विषयमा अभियोजन गर्ने कुनै प्रमाण नरहेको मुम्बई प्रहरीले एक अदालतलाई बताएको छ ।
नानाले आफूलाई १० वर्षअघि हर्न ओके प्लीज नामक फिल्मको सेटमा दुर्व्यवहार गरेको आरोप तनुश्रीले लगाएकी थिइन् ।
बी सम्मरी प्रतिवेदनमा प्रहरीले तनुश्रीको उजुरीलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको र आफूहरू अनुसन्धान जारी राख्न असमर्थ रहेको उल्लेख गरेको छ ।
तनुश्रीका वकिल नितिन सतपुतेले प्रहरीको प्रतिवेदनको आधिकारिक जानकारी आफूकहाँ नआइपुगेको र प्रहरीले नाना पाटेकरलाई जोगाउन खोजेको दाबी गरे । बम्बई उच्च अदालतसमक्ष आफूले निवेदन दिने उनले बताए ।
तनुश्रीले नानालाई सफाइ दिइएको विषयले आफूलाई आश्चर्यमा नपारेको बताइन् ।
‘भारतमा एक महिलालाई यस्ता किसिमका व्यवहार भइरहन्छन् त्यसैले म न स्तब्ध छु, न त आश्चर्यचकित नै । भ्रष्ट प्रहरी र कानूनी व्यवस्थाले महाभ्रष्ट नानालाई सफाइ दिएको छ जबकि नानामाथि पहिले पनि फिल्म उद्योगमा धेरै महिलाले दुर्व्यवहारको आरोप लगाएका थिए,’ उनले भनिन् ।
आफ्ना साक्षीहरूलाई मौन बस्न भनिएको र झूटा गवाहीहरू प्रस्तुत गरेर मुद्दा कमजोर बनाउन खोजिएको उनको दाबी छ ।
एजेन्सी