
काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत शुक्रवार इंग्ल्यान्ड र वेस्ट इन्डीजबीच भिडन्त हुँदैछ । यी दुवै टोलीका ब्याट्स्म्यानहरू विस्फोटक ब्याटिङ गर्छन् र दुवै टोलीका बलरहरू उत्तिकै खतरनाक छन् ।
त्यसमाथि साउथह्याम्पटनको पिचमा रनको पहाड बन्ने गर्छ ।
दुवै टोलीले सेमिफाइनल पुग्नका लागि भरमग्दूर प्रयास गर्नेछन् । अस्ट्रेलियाले पाकिस्तानलाई हराएपछि सेमिफाइनलका लागि बलियो सम्भावना देखाएको छ भने भारत र न्युजील्यान्डबीचको खेल रद्द भएपछि दुवै टोलीले अंक बाँड्दा अन्य टोलीलाई घाटा लागेको छ ।
आजको खेल हार्ने टोलीलाई अगाडि बढ्न निकै नै अप्ठ्यारो पर्छ । इंग्ल्यान्डले त झन् आजको म्याच जित्नैपर्नेछ किनकि उसले प्रतियोगिताका बलिया टोलीहरू भारत, अस्ट्रेलिया र न्युजील्यान्डसँग भिड्नै बाँकी छ ।
अस्ट्रेलियाविरुद्ध मजबूत पोजिसनमा भए पनि खेल हार्न पुगेको वेस्ट इन्डीजले दक्षिण अफ्रिकाविरुद्ध पानी परेका कारण खेल्नै पाएन । भारत र न्युजील्यान्डविरुद्ध प्रभावशाली प्रदर्शनका लागि पनि वेस्ट इन्डीजले आजको खेल जित्नुपर्छ । अनि त्रिपक्षीय शृंखलामा आफूलाई हराएको बंगलादेशलाई पनि उसले सामना गर्न बाँकी नै छ ।
इंग्ल्यान्ड र वेस्ट इन्डीजको आजको म्याचको कुरा गर्नुपर्दा एकातिर आक्रामक ब्याट्स्म्यान क्रिस गेल छन् भने अर्कातिर जेसन रोय र जोनी बेयरस्टो छन् । अनि इंग्ल्यान्डका बलर जोफ्रा आर्चरका विरुद्ध वेस्ट इन्डीजका खतरनाक बलर ओशेन टमस छन् ।
छक्का हान्न माहिर आन्द्रे रसेलको सामुन्ने हुनेछन् चौकाका बादशाह जोस बटलर । इंग्ल्यान्डका कप्तान ओइन मोर्गन र वेस्ट इन्डीजका कप्तान जेसन होल्डर दुवै गजबको नेतृत्व दिन्छन् । उनीहरूले उत्कृष्ट रणनीतिको नमूना प्रस्तुत गरेका छन् ।
साउथह्याम्पटनमा यो हप्ताभरि पानी परिरहेको छ । शुक्रवार पानी पर्न बन्द भएर आकाश खुले हुन्थ्यो भनी कामना गर्नुबाहेक अर्को उपाय छैन । लामो समयदेखि पिचलाई छोपिएकाले त्यसको अवस्था कसैलाई थाहा छैन । तर दक्षिण अफ्रिकाविरुद्ध सम्भव ७.३ ओभरमा वेस्ट इन्डीजका तीव्र गतिका बलरहरूले राम्रो प्रदर्शन गरेको देख्दा टस जित्ने टोलीले बलिङ नै रोज्ने पक्का छ ।
एजेन्सी