
काठमाडौं – गूगलको एन्ड्रोइड सिस्टमलाई प्रतिस्थापन गर्नका लागि हुआवेले आफ्नै मोबाइल अपरेटिङ सिस्टम विकसित गरिरहेको छ ।
यो सफ्टवेयर प्रोजेक्टका विषयमा लामै समयदेखि हल्ला चलिरहेको थियो । हुआवे बिजनेस ग्रूपका अध्यक्ष रिचार्ड युले यसमाथि सन् २०१८ देखि यसमाथि काम भइरहेको बताए ।
सफ्टवेयर कस्तो हुनेछ र एन्ड्रोइडभन्दा यो कसरी फरक हुनेछ भन्ने विषयमा मानिसहरूमा जिज्ञासा छ ।
हुआवेले नयाँ अपरेटिङ सिस्टमका लागि होङमेङ नाम प्रस्ताव गरेको छ । ट्रेडमार्कका लागि हुआवे क्यानडा, दक्षिण कोरिया, न्युजील्यान्ड र क्याम्बोडिया लगायतको देश पुगिसकेको छ । यो ट्रेडमार्कले स्मार्टफोन, कम्प्युटर, टेलिभिजन र रोबोटलाई पनि समेट्छ । होङमेङको ट्रेडमार्क चीनमा गत वर्ष दर्ता गरिएको थियो ।
हुआवेको अपरेटिङ सिस्टमलाई आन्तरिक कोड होङमेङ भनी चिनिन्छ र यसलाई आर्क ओएसको नाममा सार्वजनिक गरिने सम्भावना छ । हुआवेको अपरेटिङ सिस्टमले एन्ड्रोइड यापहरूलाई हुआवे यापग्यालरीबाट डाउनलोड गरेर सञ्चालन गराउन सक्छ । हुआवेको यापग्यालरी हुआवे र अनर फोनमा पहिले नै इन्स्टल गरिएका छन् ।
याप डिभेलोपरहरूले हुआवेको नयाँ अपरेटिङ सिस्टममा आफ्नो याप चलाउन महत्त्वपूर्ण परिवर्तन गर्नु नपर्ने देखिन्छ । तर एउटा प्राविधिक ब्लगमा लेखिएअनुसार, नयाँ अपरेटिङ सिस्टमका लागि याप थप्दा ६० प्रतिशतभन्दा बढीको पर्फर्मेन्स बूस्ट आवश्यक हुन्छ । अर्थात् कस्टमाइज नगरिएका एन्ड्रोइड यापको प्रदर्शन अन्य एन्ड्रोड फोनको भन्दा कम हुनेछ ।
हुआवे र अमेरिकाबीचको तनाव बढिरहँदा अन अमेरिका र चीनबीचको व्यापारयुद्ध चर्किरहँदा हुआवेले आफ्नै सफ्टवेयर तयार राख्नुपर्ने आवश्यकता थियो । यो सफ्टवेयर सन् २०१९ को अन्त्यसम्ममा चीनका लागि तयार हुने बताएका छन् । सन् २०२० मा यो अन्तर्राष्ट्रिय बजारका लागि तयार हुनेछ ।
हुआवेले चिनियाँ सरकारसँग मिलेर फोनमार्फत जासूसी गरेको आरोप लगाउँदै अमेरिकाले यसलाई एन्टिटी लिस्टमा राखेको छ । संसारको दोस्रो सबभन्दा ठूलो मोबाइल उत्पादक हुआवेलाई पाटपुर्जाहरू आपूर्ति गर्न अमेरिकी सरकारले स्वीकृत गरेका आपूर्तिकर्ताले पाउँछन् ।
परिणामस्वरूप गूगलले हुआवेसँग सम्बन्ध तोडेर लामो र सफल सम्बन्ध अन्त्य गर्यो । गूगलपछि क्वालकम र इन्टेल पनि हिँडिदिए । त्यसो त अमेरिकी सरकारले अमेरिकी कम्पनीहरूलाई हुआवेसँगको कारोबारका लागि ९० दिनको छुट दिएको छ तर अझै थप कम्पनीहरूले हुआवेसँग नाता तोड्ने हल्ला छ ।
अमेरिका र चीनबीचको तनाव नभएको भए पनि हुआवेले आफ्नै प्रविधि ल्याउने थियो । अरू कम्पनीहरूप्रतिको निर्भरता हुआवेले घटाउन खोजेको छ । यसले तेस्रो पक्षका प्रोसेसरहरू अझै पनि प्रयोग गर्ने गरेको भए पनि यसका थुप्रै डिभाइसले आफ्नै कम्पनीकै चिपहरू प्रयोग गर्ने गरेका छन् ।
एन्ड्रोइडसेन्ट्रल डट्कमबाट