
काठमाडौ– प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा देशभर राज्यकोषको दुरुपयोग भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा आवाज उठाएको छ ।
सोमवार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद मीन बहादुर विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा भइरहेको खर्च हेर्दा सत्ता पक्षलाई समेत लाज लाग्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा छुट्याइएको २ अर्ब ३७ करोड एक महिनामा खर्च भएको छ, काम के गरेछ भन्दा कामदारलाई बेल्ट लगाइदिएछ, ज्याकेट लगाइदिएछ, बुट लगाइदिएछ यो गर्मीमा पनि र हातमा औजार दिएछ बेल्चा,’ सांसद विश्वकर्माले संसदको बैठकमा भने, ‘काम के लगाएछ भन्दा मकै गोड्ने ! यो हेरेपछि प्रतिपक्षलाई मात्र कुरीकुरी लागेन होला, प्रधानमन्त्री विदेशमा हुँदा प्रधानमन्त्रीको साटो न्युजपेपरले पनि हँसाए होला जस्तो लाग्छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा मकै गोड्ने, झार उखेल्ने सडकका गाई धपाउने, स्कूलका आँगन बढार्नेजस्ता काममा बजेटको दुरुपयोग भएकोमा आम जनताले कुरीकुरी गरेको उनले दाबी गरे ।
‘साँच्चै उत्पादनशील क्षेत्रमा लगाएको भए २ अर्ब ३७ करोडले सिड मनीको रूपमा युवालाई रोजगारी दिएको भए ५ लाख दिएको भए, ५ हजारलाई, ४ लाख दिएको भए ८ हजार, ३ लाखले पाएको भए १२ हजार र १ लाख दिएको भए २५ हजार बढीले रोजगारी पाउँथे,’ विश्वकर्माले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पर्वको रूपमा, उत्साहको रूपमा ज्याकेट लगाउने र फोटो खिचाउने काम भयो । बेल्चाले मकै गोडेको थाहा छैन, भएको मकै बारी नष्ट गर्ने काम गरेको छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा देशभर बजेटको दुरुपयोग भइरहेका समाचार प्रकाशमा आएका छन् ।