१४ असार २०८३, आइतबार

शहरी योजना आयोगमा ५ सदस्य नियुक्त

शहरी योजना आयोगमा ५ सदस्य नियुक्त

काठमाडौं – काठमाडौं महानगरपालिकाले शहरको समस्या समाधान गर्न शहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ ।

जनताको आवश्यकता र चाहना बुझेर शहरी उन्नतिमा ठोस योगदान पुर्‍याउन आयोगमा सदस्य नियुक्त गरिएको महानगरले जनाएको छ ।  

नियुक्त हुनेमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा.डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य तथा समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, शहरी योजनातर्फ कृतिकुसुम जोशी र प्राविधिकतर्फ इञ्जिनीयर सजीव श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन २०७५ को व्यवस्था बमोजिम नियुक्त गरिएको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

ऐनबमोजिम जेठ १२ गते बसेको कार्यपालिकाको ३३ औं बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । सन्तुलित विकासबाट दिगो शहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि शहरी योजना आयोग गठन गर्न तथा सञ्चालन कार्यविधि ऐन तर्जुमा गरिएको हो । यस ऐनबमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय शहरी योजना आयोग गठन हुनेछ । 

यसले स्थानीय तथ्य र तथ्यांक संकलन गर्ने, विकास आवश्यकता, आयोजना तथा परियोजनाको अध्ययन, अनुसन्धान, विश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन गर्नेछ । ऐनको परिच्छेद २ बमोजिम गठित आयोगमा उपप्रमुख आमन्त्रित सदस्यका रुपमा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने यस आयोगमा प्रमुखबाट नियुक्त ९ जना सदस्य रहनेछन् भने १ जना महिला अनिवार्य गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्