२२ असार २०८३, सोमबार

पहिरोले ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा

पहिरोले ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा
प्रतिकात्मक तस्वीर

ताप्लेजुङ – जिल्लाको सिरिजंघा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण ३ दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ ।

सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो । 

पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिए । सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोकलगायतका ठाउँमा जाने सवारीसाधन सिनामसम्म मात्रै पुग्ने गरेका छन् भने यहाँबाट बाहिरिने सवारीसाधनसमेत सिनामबाटै चल्ने गरेका छन् । 

आम्बेगुदिनको हप्पुखोला, सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारीसाधन जान नसकेपछि यात्रुलाई गाडी भेट्न घण्टौंसम्म हिँड्नुपर्ने बाध्यता छ ।

तेल्लोकबाट सिनाम आइपुग्न झण्डै ३ घण्टा पैदल हिँड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ । साविकका याम्फुदिन, मामांघे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ । सधैं घरबाट हिँडेकै दिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र १ दिन सिनाममा नै बास बसेर भोलिपल्ट मात्रै गाडी छुट्ने गरेको स्थानीयले बताएका छन् । तीनदेखि बाटो अवरुद्ध बनेपनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयवासीले बताएका छन् । 

गत वर्षसमेत सोही ठाउँमै झरेको पहिरो पन्छाउन झण्डै ५ लाख रुपैयाँ बढी खर्च गरेको सिरिजंघा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ । दिनहँुजसो ठूलो वर्षा भइरहेकाले र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । सो क्षेत्रमा तीनदेखि निरन्तरजसो वर्षा भइरहेको छ । 

उनका अनुसार वर्षा कम भएपछि प्रयास गरिने छ तर ठूलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम भएको गुरुङको भनाइ छ । भौगोलिक हिसाबले सडक दीगो समेत नभएको उनले बताए । बर्सेनि पहिरो झरिरहने समस्या भएपछि अन्तैबाट बाटो घुमाउनुपर्ने देखिएको गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्