काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने अन्तर्राष्ट्रिय प्रचलन भएको दावी गरेका छन् ।
हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्य अन्तर्गत मंगलवार आफूलाई सदनमा बोल्न अवरोध गरिएको उनको दावी छ ।
संसदमा सम्बोधन गर्न नपाएपछि अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले संसदमा असंसदीय क्रियाकलाप गरेको आरोप लगाए ।
‘कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न रोक्नको लागि संसदको काम कारवाही अवरुद्ध गर्यो, लामो लोकतान्त्रिक आन्दोलनबाट आएका मित्र शेरबहादुर देउवा आफैं नेतृत्व गरेर वेल घेर्ने कामको नेतृत्व गरेर जानुभयो, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने,’ ओलीले भने ।
ओलीले दक्षिणपन्थी प्रतिक्रियावादी र अति वामपन्थी उग्रपन्थीहरू हालको व्यवस्था उल्ट्याउन लागिपरेको आरोप लगाए । ‘लोकतन्त्र विरोधी गतिविधि, विकासका प्रयासलाई बिथोल्ने गतिविधि, अवाञ्छित विरोधका स्वर वास्तममा समयानुकूल छैनन्,’ ओलीले भने ।
ओलीले आफू मुलुकबाहिर गएको समयमा गुठी विधेयकलाई लिएर देशभित्र तनाव बढाउने प्रयास भएको आरोप लगाए । ‘अहिले भ्रमपूर्ण प्रचार भएको छ, हामीले चाहेको हाम्रा सम्पदाको धरोहरको संरक्षण गर्नका लागि हो,’ ओलीले थपे, ‘विधेयक परम्परासँग संस्कृतिसँग जोडिएको छ, सम्पत्तिको सुरक्षा होस् भन्नका निम्ति भएको तर प्राधिकरणले गुठी सञ्चालन गर्ने भनेको होइन ।’
गुठी विधेयकको आन्दोलनमा लोकतन्त्र विरोधीको घुसपैठ भएको समेत जिकीर गरे । उनले विधेयक फिर्ता गर्ने भूमि व्यवस्था मन्त्रीको निर्णयलाई दृढतापूर्वक समर्थन गर्ने बताए ।