२५ जेठ २०८३, सोमबार

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थान– राष्ट्रपति भण्डारी

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थान– राष्ट्रपति भण्डारी

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई आज शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी अनमोल कविता लेख्नु खुशीको विषय भएको व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय हो । साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्नेछन् ।”

समारोहमा विसं २०७५ को कविता महोत्वसमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरियो । तृतीय हुने अर्का कवि जीवन खत्री उपस्थित हुनुभएको थिएन । 

यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत कविले आफ्ना कविता वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि कविता महोत्वसको आयोजना गरिएको बताउँदै प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्बन्ध विकास गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्वसलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताउनुभयो भने काव्य विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले आउँदो असार ९ गते हुने कविता महोत्वसको छनोटमा वाचनका लागि अलग्गै १० पूर्णाङ्क तय गरिएको जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्