२७ जेठ २०८३, बुधबार

भारतको धौलिगंगा बाँध खोलिँदै, महाकाली नदीमा बाढीको खतरा

भारतको धौलिगंगा बाँध खोलिँदै, महाकाली नदीमा बाढीको खतरा

बैतडी – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगंगा जलविद्युत् आयोजनाको बाँध शुक्रवार खोलिने भएको छ ।

भारतको एनएचपिसी लिमिटेड धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ देखि १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने र बाढी आउने भएकाले सतर्क रहन आग्रह गरिएको हो । 

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिएपश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचनासमेत प्रकाशन गरेको छ ।   

बाँध असार १४ गते बेलुकासम्म खोलिने भएकाले भएपनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा वासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रजिअ पौडेलले आग्रह गरे । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।   

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण उक्त क्षेत्रका नागरिकलाई पनि नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ । विक्रम संवत् २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्