
ललितपुर – गोदावरी नगरपालिका–४ का बडिखलेवासी डाँडाबाट पैदमार्ग निर्माण गर्ने योजनाका साथ हातमा कोदालो, चाँदे र हँसिया लिएर अघि बढेका छन् ।
सरकारले फागुन १ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएका यी बेरोजगार बडिखेलवासीले ५ किलोमिटर सडक खन्ने रोजगारी पाएका हुन् ।
गोदावरीको पर्यटक प्रवद्र्धनका लागि बडिखेलको कुमारीमार्ग हँुदै तपेश्वर मन्दिरको डाँडो र सो डाँडो हुँदै नगरपालिकाले अघि बढाएको पैदलमार्ग निर्माणको स्थानसम्म उनीहरुले काम गरिरहेको नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिए ।
‘वडाको रोजगार सूचना केन्द्रमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन दिएको २०० जनामध्ये ६० जनाले रोजगार पाएको छ,’ उनले भने, ‘बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्ने मिस्त्रीलाई दैनिक ९ सय ५३ रुपैयाँ र अन्यलाई ७ सय रुपैयाँका दरले २ चरणको ज्याला दिएका छौं ।’ कार्यक्रममा १५ पुरुष र ४५ जना महिलाले भाग लिइरहेका वडाध्यक्ष पहरीले बताए ।
‘यो कार्यक्रमका लागि सरकारले ५ लाख बजेट पठाएको छ,’ वडाध्यक्ष पहरीले भने, ‘काम गर्दा कामदारले लगाउने लुगा र औजार खरीदमा करीब १ लाख रुपैयाँ खर्च भएको छ । बाँकी ४ लाख पैदलमार्ग निर्माणमा खर्च गरिने छ ।’