
काठमाडौं – एएफसी कप फुटबल प्रतियोगितामा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधवार भएको लिग चरणको आफनो अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो ।
चेन्नईयिनको जितमा मोहमद राफीले २ गोल गरे भने इला साबिया फिल्होले १ गोल थपे । राफी खेलको ५३ औं मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।
खेलको ६७ औं मिनेटमा फिल्होले १ गोल थप्दै चेन्नईयिनको अग्रता दोब्बर बनाए ।
मनाङका आफिज ओलाडिपोले २ गोल गरे । उनले २ गोल गर्दै खेललाई २/२ गोलको बराबरीमा ल्याएपनि हार भने टर्न सकेन ।
मनाङका आफिजले खेलको ७१ र ७९ औं मिनेटमा गोल गरेका थिए तर खेलको ८८ औं मिनेटमा चेन्नईयिनका रफीले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो टोलीको जित पक्का गरे ।
एएफसी कपबाट बाहिरिसकेको मनाङका लागि यस खेल प्रतिष्ठाको लडाइँ मात्र थियो । समूह इ मा रहेको मनाङले ६ खेलबाट २ अंक मात्र जोड्यो । जीतसँगै चेन्नईयिनले ११ अंक जोडेको छ । उसले ६ खेलमा ३ जीत, २ बराबरी र १ हार ब्यहोरेको छ ।
समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।