
काठमाडौँ– तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ ।
आयोगले बुधबार पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण मौसम रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । यद्यपि, प्रतिवेदनको विस्तृत जानकारी भने बाहिर ल्याइएको छैन ।
पर्यटनमन्त्री अधिकारीसहित सातजना सवार एयर डाइनेस्टीको कलसाइन ‘नाइनएन एमआई–एसएस ३५० बिथ्रिइ’ हेलिकप्टर विसं २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङस्थित तारेढुङ्गा भन्ने सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
उक्त दुर्घटनापश्चात मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको सत्य तथ्य जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन सरकारलाई पेश गर्नेगरी पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । मन्त्री अधिकारीसहितको टोली ताप्लेजुङ्गको चुहानडाडाँलगायतका क्षेत्रको विमानस्थलको सम्भाव्यता अध्ययन तथा स्थलगत निरीक्षण गर्न काठमाडौँबाट गएको थियो ।
चुहानडाँडाको निरीक्षणपछि उक्त टोली पाथिभरा देवीको मन्दिर दर्शन गर्न गएको थियो । जतिबेला त्यहाँको मौसम खराबी थियो हेलिकप्टर उडेको एक मिनेटमै हिमआँधी आएकाले दुर्घटना भएको प्रतिवेदनले औंल्याएको छ । मन्त्रालयका अनुसार प्रारम्भिक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान छ । सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।
केन्द्रीय प्रतिनिधिसँग काङ्ग्रेस
नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तक्र्रिया शुरु गरेको छ ।
अन्तक्र्रियाको शुरुआतका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा जिल्लाबाट प्राप्त अनुभव एवं सुझावका आधारमा दोस्रो चरणको अभियान शुरु गरिने बताए । पार्टी महामन्त्री पूर्णबहादुर खड्काले निश्चित योजना र कार्यदिशासहित ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिले अन्तक्र्रियामा लिखित प्रतिवेदन बुझाएर छलफल गरिने जानकारी दिए ।
अन्तक्र्रियाबाट आएको निष्कर्ष यही असार २२ गतेदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा राखिने उनले सुनाए । बिहीबारसम्म चल्ने कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कार्यतालिका छ ।
जागरण अभियानको पहिलो चरण गत वैशाख २५ मा शुरु भई जेठ २५ गते सम्पन्न भएको थियो । अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिकसभा, खुलासभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरिएको थियो ।
अभियानको दोस्रो चरण बिपी जयन्तीका दिन आगामी भदौ २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ ।
चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा
स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन्दै उद्यमीले उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले नयाँ श्रमजीवी ऐनअनुसार चिया श्रमिकलाई तलब भत्ता दिँदा उद्योग नै डुब्ने भन्दै उद्यमीले बिहीबारदेखि उद्योग बन्द गर्ने बताएका हुन् । सूर्योदय टी एशोशिएसनमा आबद्ध ६२ भन्दाबढी उद्योगले सरकारी पक्षबाट पनि चिया क्षेत्रीय सहयोग नपाएको र आफँै मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
दुई विधेयक पारित
प्रदेश नं ३ प्रदेशसभाको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।
उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै विधेयकलाई पारित गर्न भनी प्रस्ताव राखेका थिए ।
गाउँसभामा राउटे
दैलेको गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र प्रदान गरेर गाउँपालिकाको नागरिक बनाएको लोपोउन्मुख राउटे समुदायका मुखिया र युवाहरु पहिलोपटक गाउँसभामा सहभागी भएका छन् ।
राउटे समुदायका मुखिया र युवा गाउँपालिकाको पाचौँ गाउँसभामा सहभागी हुन रानीमत्ता आएका थिए । राउटे समुदायलाई पनि बजेटमा अपनत्व कायम गराउन सभामा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।
सभामा बोल्दै राउटे मुखिया सूर्यनारायण शाहीले आफ्ना जनताका लागि पनि बजेट विनियोजन गराउन माग गरे ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनःस्थगन
सुदूरपश्चिम प्रदेश सभाको बुधबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार १२ गते अपराह्न ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए ।
प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि असार १ गते प्रस्तुत गरेको बजेट माथिको छलफल अघि बढ्न सकेको छैन ।
सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि राख्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनतापार्टीका सदस्यको अवरोध गरेपछि यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । असार ८ गतेका लागि तोकिएको बैठक पनि स्थगन गरिएको थियो ।
उपराष्ट्रपति ‘ग्रीन हाउसमा’
उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय बुधबारदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
‘गलबन्दी’को विवाद समाधान
‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएको छ । उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि बुधबार उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो ।
सहमतिसँगै उत्पन्न विवाद समाधान भएको गायक सपूतले जानकारी दिए । राईको ‘देउसी भैलो’ बोलको गीतमा रहेको ‘आउ नाचौँ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हाँसेर’, भन्ने लयसँग सपूतको ‘गलबन्दी’ बोलको गीतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अङ्शमा लय मिल्न गएको देखिएकाले सङ्गीत सिर्जनामा राईको समेत नाम राख्ने सहमति भएको संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
युट्युबको हकमा प्राविधिक रुपमा मिल्नेसम्म राइको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशनमा भने सोहीबमोजिम गरिने सहमतिमा जनाइएको छ । आर्थिक, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा सपूतकै अधिकार रहने र राईले दाबी नगर्ने सहमतिसमेत भएको छ ।
यस्तै सहमतिपत्रमा यही असार ५ गते प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय तथा अन्य सङ्घ संस्थामा राईले दिएको निवेदन फिर्ताका लागि निवेदन दिनेसमेत सहमति भएको छ ।
चट्याङले तीनको मृत्यु
मोरङको रङ्गेली नगरपालिकामा हावाहुरी एवं पानीका साथ परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार रङ्गेली–९ दोहमना बजार नजिक चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेव घाइते भई उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत्यु भएको जानकारी दिएका हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
एसइईको नतिजा आउँदै
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।