
काठमाडौं – दोलखाको शैलुङ गाउँपालिकाका ४२ वर्षीय रमेशबहादुर (नाम परिवर्तन) लाई संगीता बस्नेतको आईडीबाट फेसबूकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो ।
संगीताले आफ्नी राम्री केटी साथीको फोटो प्रोफाइलमा राखेकाले रमेशले फेसबूकमा साथी बन्न आएको अनुरोधलाई सहजै स्वीकारे ।
साथी बनेलगत्तै संगीताले म्यासेन्जरमा आफ्नो मोबाइल नम्बर समेत पठाइन् । दुवैबीच मोबाइल नम्बर साटासाट पनि भयो ।
‘फेसबूक प्रोफाइलमा भएकी केटीले तपाईंलाई धेरै माया गर्छिन्’ भनेर संगीताले रमेशलाई फरक–फरक मोबाइलबाट फोन गर्न थालिन् ।
एक दिन संगीताले रमेशबहादुरलाई ‘तपाईंलाई मन पराउने केटी दुर्घटना परेको’ खबर सुनाइन् । संगीताले केटीलाई अस्पतालमा उपचारको लागि लगिएको र उपचारका लागि पैसा चाहिएको भन्दै रमेशसँग पैसा माग्न थालिन्् । रमेशले उपचारका लागि पैसा पठाउन थाले ।
रमेशले फेसबूकमा कुरा गर्ने केटीसँग प्रत्यक्ष भेटेरै कुरा गर्छु भन्ने कुरा राख्दा ‘केटीको भारतमा उपचारका क्रममा मृत्यु भएको’ खबर संगीताले सुनाइन् । त्यसबेलासम्म पटक–पटक गरी संगीताले रमेशसँग आईएमईमार्फत ४ लाख ५५ हजार रुपैयाँ फुत्काइसकेकी थिइन् ।
संगीताले साढे ४ लाख बढी रकम फुत्काइसकेपछि मात्रै रमेशले आफू ठगिएको थाहा पाए । उनले फेसबूकमा कुराकानी भएकै आधारमा ‘विश्वास’ गर्दा ठगिएको महसूस गरे ।
त्यसपछि रमेश अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी दिन पुगे । उजुरी परेपछि संगीतालाई खोजतलाज गर्न महाशाखाका सादापोशाकमा प्रहरी खटिए ।
असार ८ गते प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकुबाट संगीतालाई उनले प्रयोग गर्दै आएका फरक–फरक नम्बरका मोबाइल २ थान र सीमकार्डसहित फेला पार्यो । प्रहरीले संगीतालाई पक्राउ गरेपछि बल्ल खुल्यो उनको वास्तविक नाम–ठेगाना ।
जब संगीता पक्राउ परिन्, तब रमेश छक्क परे । संगीता बस्नेत भन्ने ती महिला उनकै छिमेकी गाउँकी २३ वर्षीय कल्पना बस्नेत रहिछन् । उनीमाथि अहिले कारवाही प्रक्रिया अगाडि बढेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालबाट ठगीको क्रम बढ्दै गएको देखिएको छ । सामाजिक सञ्जालमा साथी बनाउने र विभिन्न बहाना गरेर पैसा माग्ने गरिएको छ । १ जना बिरामी छ, उसलाई सहयोग गर्नुपर्यो, म तिमीसँग विवाह गर्छु जस्ता यावत् कुरा गरेर जालमा फसाउने र ठगी गर्ने ट्रेन्ड बढ्दै गएको केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल (सीसीबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकास श्रेष्ठले लोकान्तरलाई बताए ।
‘अहिले एउटाको फोटोमा अर्काको टाउको जोड्ने, सामाजिक सञ्जालमा जथाभावी ट्रोल बनाएर बद्नाम गर्ने गरेको देखिएको छ,’ उनले भने ।
अपराध नियन्त्रण गर्न ‘साइबर अपराध ब्यूरो’
सूचनाको तीब्र विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध पनि बढ्दै गएका छन् । साइबर अपराधलाई न्यूनीकरण गर्न केन्द्रीय साइबर ब्यूरो नेपाल स्थापना भएको प्रहरी नायव महानिरीक्षक श्रेष्ठले बताए । ‘विभिन्न सामाजिक सञ्जालमार्फत हुने अपराधलाई न्यूनीकरण गर्न आवश्यक भएकाले यसको स्थापना भएको हो,’ डीआईजी श्रेष्ठले भने ।
७ वटै प्रदेशमा ‘स्याटेलाइट युनिट’
साइबर अपराध नियन्त्रण ब्यूरो नेपालले ७ वटै प्रदेशमा स्याटेलाइट युनिट स्थापना गरेको छ । हरेक युनिटमा २/२ जना दक्ष तालिम प्राप्त प्रहरीलाई खटाइएको डीआईजी श्रेष्ठले लोकान्तरलाई बताए ।
‘अहिले त हामी भर्खर आएका छौं । अब हामी देशैभर प्रहरीलाई साइबर अपराध के हो ? कसरी प्रमाण जुटाउने ? अपराधीलाई कसरी कानूनको दायरामा ल्याउनेजस्ता तालिममार्फत सिकाउँछौं,’ डीआईजी श्रेष्ठले भने । ब्यूरोले देशैभर विभिन्न जिल्लामा गई २ सय जना प्रहरीलाई साइबर सम्वन्धी तालिम दिएको छ ।
दैनिक ४ देखि ८ वटा उजुरी
केन्द्रीय साइबर अपराध व्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो ४ देखि ८ वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६.८ प्रतिशत बढी अपराध फेसबूकमा भएको देखिएको छ ।
स्थापना भएको ३ महिनामा ब्यूरोमा फेसबूकका २ सय ४२ वटा, यूटुयुबका ३ वटा, इन्स्ट्राग्रामका २ वटा, इमोका २ वटा, वेबसाइडमा २ वटा, ट्विटरका १ वटा र अन्यका १ वटा गरी २ सय ५३ उजुरी परेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले लोकान्तरलाई बताए ।
कति भए सामाजिक सञ्जालमार्फत अपराध ?
पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरीसमक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूक भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५/०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएका अपराध अनुुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।