काठमाडौं – माडागास्करको राजधानी अन्तानानारिवोको महामासीना स्टेडियममा बुधवार स्वतन्त्रता दिवस समारोहमा भागदौड हुँदा १६ जनाको मृत्यु भएको छ । ७५ भन्दा बढी मानिस घाइते भएका छन् ।
माडागास्करको ५९औं स्वतन्त्रता दिवसमा यो घटना भएको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, समारोह चल्दै गर्दा परम्परागत सैन्य परेड भयो । परेड सकिएपछि सुरक्षाकर्मीहरूले मानिसलाई बाहिर जानका लागि मुख्य गेट खोलिदिए । तर प्रहरीले केही समयपछि गेट बन्द गरिदिँदा स्टेडियमभित्रको भीड नियन्त्रणबाहिर पुग्यो र भागदोड भयो ।
माडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाले अस्पताल पुगेर घाइतेहरूको सोधखोज गरे । राजोलिनाले भने, ‘स्टेडियममा क्षमताभन्दा बढी मानिस आइपुगेका थिए । त्यसैले यो दुःखद घटना हुन पुग्यो । अहिले सबै घाइतेको राम्रो उपचार चलिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, महामासीना स्टेडियमको क्षमता जम्मा २२ हजार मानिसको छ । कार्यक्रम चलिरहँदा क्षमताभन्दा दुईगुणा बढी मानिस आए ।
सन् २०१८ को सेप्टेम्बर महिनामा एक फूटबल म्याच चल्दा पनि भागदौड भएको थियो र एकजनाको मृत्यु भएको थियो ।
एजेन्सी