
बुटवल – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले बिहीबार भेटवार्ता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताए । उनले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो सम्भावना रहेको बताए । उनले त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्त्वपूर्ण सहयोग रहेको चर्चा गर्दै यो प्रदेशका अस्पतालको क्षमता विकासमा जापानको सहयोग हुँदा राम्रै हुने धारणा राखे ।
राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए । उनले संवैधानिक व्यवस्था अनुसार गठन भएका प्रदेश र स्थानीय सरकारहरूलाई सहयोग गर्नेबारे छलफल गर्दै अघि बढ्ने बताए ।
मुख्यमन्त्री पोखरेललेले यहाँ आएका बेला लुम्बिनी भ्रमण गरी काठमाडौं फर्कन आग्रह गरे । राजदूत साइगोले नेपाल–जापान सम्बन्धमा प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।