०३ साउन २०८३, आइतबार

विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्छ : प्रधानमन्त्री ओली

विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्छ : प्रधानमन्त्री ओली
फाइल फोटो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध समग्र मुलुकको साझा सरोकारको विषय भएको चर्चा गर्दै राष्ट्रिय सहमति र समान अवधारणाका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने बताएका छन् । 

मुलुकको परराष्ट्र नीतिका प्राथमिकताहरूलाई समयानुकूल समायोजन गर्ने र परराष्ट्र नीतिका मूलभूत विषयहरूमा देशभित्र साझा, व्यवहारपरक एवं स्पष्ट दृष्टिकोण तयार पार्ने उद्देश्यले शनिवार राजधानीमा आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफलमा उनले विदेश नीतिमा सबै दलको मतैक्यता हुनुपर्ने बताए । 

'मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ हाम्रो विदेश नीति केन्द्रित छ,' प्रधानमन्त्रीले भने । 

नेपाली जनतामा सार्वभौमसत्ता सम्पूर्ण रूपमा आइसकेको अहिलेको अवस्थामा देशको आर्थिक–सामाजिक उन्नयनतर्फ अग्रसर वर्तमान सरकार राजनीतिक उपलब्धिको संरक्षण तथा सुशासन र विकासका निम्ति लागिपरेको उनले बताए ।  

'राष्ट्रलाई विकास–निर्माणको बाटोमा डोर्‍याउन हाम्रा एक्ला प्रयास पर्याप्त छैनन्, मित्रहरूको साथ र सहयोग चाहिन्छ, बाह्य लगानी एवं प्रविधि भित्र्याएर लक्ष्य हासिल गर्न सकिन्छ,' उनले भने । समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आवश्यक पर्ने बाह्य सहायताको महत्व दर्शाउँदै उहाँले अनुदान र ऋण नभई लगानी ल्याउन देशको कूटनीति परिलक्षित हुनुपर्नेमा उनले जोड दिए । 

नेपाल र भारतबीच सन् १९५० भएको शान्ति तथा मैत्री सन्धि तथा त्यसयता भएका सबै असमान सन्धि सम्झौतालगायत द्विपक्षीय सम्बन्धका समग्र विषयलाई समेटेर सुझावसहितको प्रतिवेदन तयार पार्न दुवै देशका प्रबुद्ध व्यक्ति सम्मिलित समूह (ईपीजी)को प्रतिवेदन प्रस्तुतिको वातावरण शीघ्र तयार हुनेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताए । 

ईपीजीले प्रशंसनीय काम गरेको भन्दै उनले प्रतिवेदनको प्रस्तुतिपछि त्यसमा उल्लिखित विषयलाई कार्यान्वयनको चरणमा लगिने जानकारी दिए । 

 

salt training

कमेन्ट गर्नुहोस्