
तनहुँ- व्यास नगरपालिकाको कार्यालयले आफ्नो क्षेत्रभित्रका कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको हो ।
व्यास नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा बिरुवा उपलब्ध गराइएको नगरपालिकाका कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । 'व्यास नगरपालिकाभित्र रहेका १४ वटा वडाबाट दुई सय कृषकले १३ हजार बिरुवा माग गरेकामा हालसम्म ११ हजार बिरुवा वितरण गरिसकिएको छ,' उनले बताए ।
'दुई चार वटा बिरुवाका लागि टोलको सिफारिस र व्यावसायिक रूपमा खेती गर्ने कृषकका लागि वडा कार्यालयको सिफारिसमा वितरण गरिएको छ,' शाखा प्रमुख वाग्लेले भने, 'यसका लागि कृषकले कुन जातको कति सङ्ख्यामा बिरुवा लैजाने हो अग्रिम नाम लेखाएर रकम जम्मा गर्नुपर्छ ।'
उनका अनुसार कागती पाँच हजार ३४५, लिच्ची दुई हजार २००, आँप अम्रपाली दुई हजार २७०, सुन्तला बिजु एक हजार ७००, अनार ५७५, सुन्तला कलमी १३५, अम्बा २२७, रूख कटहर २२५, निबुवा १४७ र मौसम तथा जुनार ११० बिरुवा वितरण गर्न लागिएको छ ।
यसरी वितरण गरिएको फलफूलका बिरुवामा कागतीले तीन वर्षपछि उत्पादन दिन शुरू गर्नेछ भने अन्यको हकमा एक वर्षदेखि दुई वर्षको अवधिमा उत्पादन दिन शुरू गर्ने उनले बताए ।