
विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र समिति सदस्यबीच वादविवाद भएको छ । विवादको चुरो थियो– समिति बैठकमा सरोकारवाला राख्ने कि नराख्ने ! बैठक चलिरहँदा सरोकारवाला सर्वसाधारण राखिनुहुन्न भन्ने मन्त्री महासेठको तर्क थियो । उनले भने, ‘संसदीय मूल्य–मान्यताविपरीत चल्नुहुन्न । छलफल चलिरहँदा सरोकारवाला राख्नु ठीक होइन ।’
आजकाे नयाँ पत्रिका दैनिक लेख्छ- बहिरा महासंघको मागसमेत सम्बोधन हुने गरी विभिन्न विषयमा छलफल गर्न समितिले बिहीबार बैठक डाक्यो । बैठकमा सवारीचालक अनुमतिपत्र, विद्युतीय सवारीसाधन सञ्चालन र व्यवस्थापन, देशका विभिन्न सडकखण्डको दुरावस्थालगायतका विषयमा छलफल गर्ने बताइएको थियो । समितिले आमन्त्रण गरेपछि बिहान ११ बजेको बैठक भ्याउन ‘राष्ट्रिय बहिरा महासंघ’बाट २ प्रतिनिधिको उपस्थिति भयो । एक बहिरा नागरिक सवारीचालक संघर्ष समितिका संयोजक राघवीर जोशी थिए भने अर्का राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारी थिए ।
बहिरा प्रतिनिधिलाई अलग्गै कोठामा राखेर समितिको बैठक साढे ११ बजे सुरु भयो । बैठक सुरु हुनेबित्तिकै सभापति खड्काले ‘बहिरा महासंघबाट प्रतिनिधिहरू आउनुभएको छ, उहाँहरूलाई बोलाऊँ’ भनेपछि मन्त्रीले बोल्नका लागि समय मागेका थिए । उनले भनेका थिए, ‘एकातिर मन्त्री र अर्काेतिर सरोकारवाला राखेर छलफल हुँदैन । माननीयहरूले प्रश्न सोध्नुस् म उत्तर दिन तयार छु । तर, सरोकारवालालाई नराखौँ ।’
महासेठको भनाइमा समिति सभापति कल्याणीकुमारी खड्काले प्रतिवाद गरेकी थिइन् । खड्काले भनिन्, ‘एकै ठाउँमा बसेर गफ गर्न अप्ठ्यारो हुन्छ भने वेग्लै कुरा हो । तर, सरोकारवालासँग बसेर गफ गर्नु भनेको ‘नम्स’भन्दाबाहिर जानुहुँदैन ।’