
काठमाडौं – चीनले जानाजान मुसलमान बालबालिकालाई उनीहरूको परिवारबाट छुट्ट्याएको अनि धर्म र भाषा पनि अभ्यास गर्न नदिएको नयाँ अनुसन्धानले देखाएको छ । सुदूरपश्चिमको शिनजियाङ क्षेत्रमा चीनले यस्तो काम गरिरहेको हो ।
यसका साथै हजारौं वयस्कहरूलाई ठूला शिविरहरूमा बन्दी बनाएर राखिएको छ । अनि व्यापार स्तरमा बोर्डिङ स्कूलहरू बनाउने काम पनि तीव्र गतिमा अघि बढाइएको छ ।
सार्वजनिक रूपमा उपलब्ध दस्तावेज र विदेशमा बस्ने परिवारका सदस्यसँगका दर्जनौं अन्तर्वार्ताका आधारमा बीबीसीले उक्त क्षेत्रमा रहेका बालबालिकामाथि के गरिँदैछ भन्ने जानकारी जुटाएको छ ।
एउटा शहरमा ४०० भन्दा बढी बालबालिका आफ्ना आमा र बुवा दुवैसँग छुट्टिएर बस्नुपरेको देखिएको छ । शिविर वा कारागारमा आमाबुवालाई राखिएको छ ।
बालबालिकालाई केन्द्रीकृत स्याहार दिनुपर्ने हो कि हैन भन्ने निर्धारित गर्न औपचारिक जाँचबुझ गरिँदैछ ।
शिनजियाङका वयस्कहरूको पहिचान परिवर्तन गर्ने प्रयासका साथसाथै बालबालिकालाई उनीहरूको जराबाट विमुख गराउने सुनियोजित अभियान पनि चलाइएको प्रमाण भेटिएको छ ।
शिनजियाङमा चीनको कठोर निरीक्षण र नियन्त्रण छ । पत्रकारहरूलाई दिनको २४ घन्टा नै पछ्याउने गरिन्छ । त्यसैले त्यहाँ प्रमाण संकलन गर्न सम्भव छैन । तर टर्कीमा प्रमाण पाइन्छ ।
इस्तानबुलको एक विशाल हलमा दर्जनौं मानिस आफ्नो कथा भन्न तयार हुन्छन् । उनीहरूले आफ्ना सन्तानको तस्वीर पनि बोकेका छन् । बालबालिका शिनजियाङमै राखिएका छन् ।
‘उनीहरूलाई कसले हेरिरहेको छ मलाई थाहा छैन,’ आफ्ना तीन छोरीको तस्वीर देखाउँदै एक आमा भन्छिन्, ‘कुनै सम्पर्क छैन ।’
अर्की आमाले तीन छोरा र एक छोरीको तस्वीर तस्वीर समातेकी छन् र उनी आँखाबाट आँसु पुस्छिन् । ‘उनीहरूलाई अनाथालयमा लगिएको सुनेकी छु ।’
६० वटा फरक फरक अन्तर्वार्तामा मातापिता र अन्य नातेदारले शिनजियाङमा १०० भन्दा बढी बालबालिका बेपत्ता भएको पीडादायक बयान दिएका छन् ।
यी सबैजना उइगुर समुदायका हुन् । यिनीहरू शिनजियाङको सबभन्दा ठूलो र मुसलमान समूहका सदस्य हुन् । उनीहरूको लामो समयदेखि टर्कीसँग भाषिक तथा धार्मिक सम्बन्ध थियो । अध्ययन गर्न वा व्यापार गर्न वा
परिवारसँग भेटघाट गर्न हजारौंजना टर्की आएका हुन् । अनि चीनले सन्तानको संख्यामा लगाएको सीमाबाट बच्न र बढ्दो धार्मिक दमनबाट बच्न पनि उनीहरू टर्की पुगेका हुन् ।
बीबीसीबाट