काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२० को नेपाल पर्यटन वर्षलाई फाइदा हुने अवस्थामा बलिउड फिल्म सम्बन्धी कार्यक्रम आइफा नेपालमा आयोजना हुने बताएका छन् ।
सरकार ‘डिलिङ’ गरिरहेको र अनुकूल स्थिति हुने भएमा त्यसको आयोजना गर्ने ओलीले स्पष्ट गरे ।
शुक्रवार नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रधानमन्त्री ओलीले न्यून लागतमा देशलाई अधिकतम् फाइदा हुने अवस्थामा आइफा गर्न दिने गरी मन्त्रिपरिषद्मा छलफल भएको बताएका हुन् ।
‘हामीले सन् २०२० मा २० लाख पर्यटक ल्याउने भनेका छौं, त्यसका लागि अहिले ५ लाख बढाएर अर्को वर्ष एकै पटक १२ लाख पर्यटक भित्र्याउनुपर्छ । त्यसलाई सफल हुन नदिनको लागि अहिले आइफा अवार्डको एउटा हल्ला फिजाइएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी त्यसको आयोजना गर्नका लागि स्वीकृति दिने भनिएको छ । सरकारले अर्बौं खर्च गर्ने हावा कुरा हो । निर्णय गरी नसकेको इजाजल दिई नसकेको र अहिले बार्गेनिङ चलिरहेको छ ।’
आइफा रोक्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दिएको निर्णयप्रति ओलीले आपत्ति जनाए । बिहीवार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशनप्रति विरोध जनाएका थिए ।
अन्तर्राष्टिय सम्बन्ध समितिमा नेकपाका माधवकुमार नेपाल, भीम रावल लगायतले आइफा रोक्न लबिङ गरेको भन्दै नेकपाभित्र असन्तुष्टि चुलिएको छ । ओलीले थपे, ‘लौ सर्वनाश भयो देशको भनेर हल्ला पिटाएर रोक्ने आदेश अनाधृकित ढंगले फर्मान जारी गरियो । सरकार डिलिङ गरिरहेको छ, राम्रो र फाइदाजनक भयो भने, हाम्रो भ्रमण वर्षका लागि उपयोगी हुन्छ । राम्रो अवस्थामा अनुकूल स्थिति हुने भयो भने हामी त्यसको आयोजना गर्छाैं । देशलाई घाटा पारेर होइन देशलाई नाफा हुने गरी आयोजना गर्छाैं, भएन भने त्यो हुँदैन ।’