
बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् ।
गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हुन् । मार्स भन्नाले मंगल ग्रहमा हिँड्ने रोवर्ट भनेर अर्थ्याइएको छ ।
रोबोटले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउँछ । एसईई परीक्षा दिएर बसेको बिदामा उनीहरूले रोबोट निर्माण गरे ।
बुटवल योगिकुटीका लबकुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोबोट र स्पष्ट बोल्न सक्ने रोबोट बनाएर यस क्षेत्रका सबैलाई आश्चर्य बनाएका छन् । रोबोटले नेपाली भाषा बुझेर नेपालीमै जवाफ दिन्छ ।
बुटवलको नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयबाट एसईई दिएका दाजुभाइले एसईई पछिको समयलाई सदुपयोग गर्दै रोबोट बनाएका हुन् । यसअघि उनीहरूले बनाएको ‘गो–गो’ रोर्बटले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो ।
‘हामीले बनाएको यो रोबोट पहिलेको ‘गो–गो’ रोबोटभन्दा धेरै फरक छ । यसको बनोट मात्र होइन, यसले गर्ने हरेक गतिविधि फरक छ,’ युवा वैज्ञानिकको नामले परिचित लव पन्थी भन्छन्, ‘यसले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउन सक्छ ।’
रोबोटमा ‘पाईथम प्रोग्राइमिङ इन ल्याङवेज’द्वारा बनाइएको लुकु सफ्टवेयरको प्रयोग गरिएको छ । त्यसबाहेक रोबोटमा हाइभोल्टेज मोटर, हाइस्पिड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ । नेपाली भाषा बुझेर नेपालीमै बोल्न सक्ने पहिलो रोबोट भन्दै उनीहरूले उद्योग विभागमा प्याटन दर्ता गरेका छन् ।
‘यो प्याटन गरेपछि कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोबोट भनेर दावा गर्न पाउँदैन्, यदि दावा गर्ने कोही भए उद्योग विभागले हाम्रो रोबोटलाई अवलोकन गर्छ,’ लभले भने ।
नेपाली भाषामा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंगहरू पत्ता लगाउने, शब्द उच्चारण समेत गर्दछ । त्यति मात्र होइन, रोबोट गुड्न पनि सक्दछ । ‘यो रोर्बटमा हामीले पांग्राको मद्दतले हिँड्ने गराएका छौं । तोकिएको समय सेट हुनासाथ उ आफैं हिड्न सक्छ,’ उनले भने, ‘त्यसैले पनि यो रोबोटलाई सपिङ महल, बैंकमा सेक्युरिटीको रुपमा राख्न सकिन्छ ।’ २ कक्षामा पढ्दै गर्दा रोबोट बनाउने सपना देखेका थिए दाजुभाइले ।
२ वर्षको मेहनतमा ‘गो–गो’ रोबोट बनाएका उनीहरूले सबैको सल्लाह सुझाव अनुसार नै रोबोटलाई परिमार्जन गरेको अर्का युवा वैज्ञानिक कुश पन्थीले बताए ।
‘गो–गो’ बनाएपछि हामीमाथि सबैले चासो राख्नुभयो, प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले समेत भेटेर हौसला दिनुभयो । त्यही अनुसार हामीले यसलाई परिमार्जित गर्न सक्यौं,’ उनले भने ।
‘गो गो’ रोवर्ट निर्माणपछि बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ समेत सहयोग गरेको थियो । ‘बुटवल उपमहानगरपालिकाले दिएको १ लाख रुपैयाँ र त्यसमा थप हामी आफैंले ४ लाख रुपैयाँ गरी ५ लाख रुपैयाँको लगानीमा यसलाई तयार गरेका हौं,’ उनले भने ।
१६ वर्षीय जुम्ल्याहा दाजुभाइले नेपाललाई रोबोटको देश भनेर चिनाउने गरी रोबोटलाई अझै बढी अपडेट गर्दै लैजाने योजना बनाएका छन् । त्यति मात्र होइन, मुख्य राजमार्गमा गर्मीमा जुस र जाडोयाममा कफी बिक्री गर्ने योजना उनीहरूले बनाएका छन् । त्यसको अनुमतिका लागि स्थानीय तह र प्रदेश सरकारलाई पत्र समेत पठाएका छन् ।
‘सडकमा रोबोटको माध्यमबाट जुस, कफी बिक्री गर्ने योजना हामीले अब बनाएका छौं,’ कुशले भने, ‘यसो गर्न सकियो भने प्रदेश सरकारले सारेको लुम्बिनी भ्रमणको समेत प्रचारप्रसारमा टेवा पुग्ने छ ।’
परिवारबाट कस्तो सहयोग छ भन्ने जिज्ञासामा उनले परिवारकै सहयोगकै कारण रोबोटलाई परिमार्जित गर्दै लगेको उनले बताए । ‘दिमाग हामीले लगायौं, लगानी घरबाटै भयो, हौसला प्राप्त भयो, अनि बल्ल रोबोट सम्भव भयो,’ उनले भने ।
‘गो–गो’ रोवर्ट बनाएपछि उनीहरू कपिवस्तुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट सम्मानित, बुटवलमा भएको क्यान ईन्फोटेक, नवलपरासी लगाएका स्थानमा सम्मान समेत प्राप्त गरेका छन् ।