
काठमाडौं– विषादी परीक्षण गरेर मात्रै आयात गर्न पाउने आफ्नै निर्णयबाट सरकार पछि हटेपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा विषादी परीक्षणपछि मात्रै आयात गर्त पाउने निर्णयबाट पछि हटेको सरकारले पछिल्लो समय स्पष्टिकरण दिन थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले समेत शनिवार कसैको दबाब प्रभावमा निर्णय फिर्ता नलिएको प्रतिक्रिया दिएका थिए । त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पनि आइतवार आवश्यक पूर्वाधार नभएको र केही दिनमा पूर्वाधार निर्माण गरेर विषादी परीक्षणपछि मात्रै आयात गर्न पाउने सरकारी व्यवस्था कार्यान्वयनमा नआएको बताएका थिए ।
त्यस्तै सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफ्नो कारणले विषादी परीक्षणका निर्णयबाट सरकार पछि नहटेको प्रतिक्रिया दिएका छन् ।
उनले सचिवहरूले आफूलाई गुमराहमा पारेको र आवश्यक पूर्वाधार नभएको समेत सचिवहरुले थाहा नदिएको आरोप लगाए ।
पत्रकार सम्मेलनको शुरूमै मन्त्री यादवले यत्रो निर्णय आउँछ भन्ने आफुलाई नलागेको र तरकारी तथा फलफूल आयातलाई व्यवस्थित गर्न खोज्दा ठूलै भुकम्प आएको बताए ।
‘मलाई त यत्रो भुईँचालो आउँछ भन्ने लागेकै थिएन । यो निर्णयलाई अलिकति व्यवस्थित गर्न खोज्दाखेरि ठूलै भुईँचालो आएको महशुस गरें मैले,’ उनले भने, ‘अहिलेसम्म भुईचालोको तरङ्ग चाँही जस्तो ठूलो भुईचालो आएको थियो नि पटक पटक उठ्ने सेलाउने, उठ्ने सेलाउने भइराखेको छ ।’
(*यसअघि मन्त्रीको नाम अन्यथा भएकाले सच्याइएको छ )