
काठमाडौँ - संसारको कुनै पनि देशमा ट्राफिक नियम तोडियो भने ट्राफिक प्रहरीले जरिवाना गर्छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नु भनेको मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सीट बेल्ट नलगाउनु, सवारी चलाउँदै गर्दा फोनमा कुरा गर्नु, ट्राफिक लाइटको वास्ता नगर्नु जस्ता क्रियाकलापहरू हुन् ।
तर ल्याटिन अमेरिकी देश उरुग्वेमा एक महिला सुन्दर भएकै कारण ट्राफिक प्रहरीले जरिवाना गरेको छ । सामाजिक सञ्जालमा यो प्रकरण भाइरल भइरहेको छ ।
गत २५ मेको स्थानीय समय अनुसार दिउँसो ३ बजे ट्राफिक प्रहरीले एक महिलाले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै जरिवानाको 'चीट' काटे ।
उरुग्वेको पेशान्दु सहरमा ड्युटीमा खटिएको ट्राफिक प्रहरीले आफ्नो अगाडि सुन्दर महिलाले गाडी रोकेको देखे । महिला यति सुन्दर थिइन् कि ड्युटीमा खटिएको ट्राफिक हेरेको हेर्यै भए । त्यसपछि त्यहाँ ट्राफिक व्यवस्थापनमा असर पर्यो र गाडीहरू यत्रतत्र हुन थाले ।
यसको जिम्मेवारी महिलाले लिनुपर्ने बताउँदै ट्राफिक प्रहरीले उक्त महिलालाई बाहिर निस्किन भने र जरिवानाको चीट काटे । चीटको अन्त्यमा ट्राफिक प्रहरीले 'आइ लव यु' लेखेर महिलाको हातमा थमाए ।
-एजेन्सीको सहयोगमा