
काठमाडौं – न्युयोर्कको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको व्यक्तिगत ट्विटर अकाउन्टबाट आलोचकलाई ब्लक गर्न नदिने निर्णयलाई सदर गरेको छ । उनले कार्यालय प्रयोजनका लागि व्यक्तिगत ट्विटर प्रयोग गर्ने गरेको अदालतको जिकिर छ ।
राष्ट्रपतिले आफ्नो ट्विटर अकाउन्टमा सार्वजनिक पहुँच सीमित गर्ने काम संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने म्यानह्याटनको सेकेन्ड यूएस सर्किट कोर्ट अफ अपील्सको तीन न्यायाधीशको प्यानलले मंगलवार फैसला गरेको छ । ट्रम्पको व्यक्तिगत ट्विटर अकाउन्टमा लगभग ६ करोड २० लाख फलोअर छन् ।
यो मुद्दा सन् २०१७ मा नाइट फर्स्ट एमेन्डमेन्ट इन्स्टिच्युटले सातजना ट्विटर प्रयोगकर्ताको तर्फबाट दर्ता गरेको थियो । ती सातजनालाई ट्रम्पले ट्विटरमा ब्लक गरेका थिए । सन् २०१८ को मे महिनामा अदालतले ट्रम्पलाई ब्लक गर्न रोक लगाएको थियो । ह्वाइट हाउसले यो फैसलाविरुद्ध पुनरावेदन गरेको भए पनि अदालतले ट्रम्पलाई अनब्लक गर्न आदेश दिएको थियो ।
एजेन्सी