२९ जेठ २०८३, शुक्रबार

मनसुनी न्यून चापीय रेखा नेपाल नजिक, देशभर वर्षा हुने

मनसुनी न्यून चापीय रेखा नेपाल नजिक, देशभर वर्षा हुने

काठमाडौं – मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले बुधवार देशभर वर्षा भइरहेको छ ।

अझै २–३ दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र १/२ स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी बुधवार र बिहीवार वर्षा हुने क्रम जारी रहने छ । ‘वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ,’ मौसमविद् प्रधानाङ्गले भने । 

शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ ।

पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधवार प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नम्बर २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । 

ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्