
नुवाकोट – जिल्लामा सर्पको डसाइबाट बच्नका लागि लगाइने खोप (एण्टी स्नेक भेनम) को अभाव भएको छ ।
सर्पले डसेपछि उपचारका लागि दिइने खोपको अभाव भएपछि सेवा लिन बिरामीलाई काठमाडौं पुग्नुपर्ने बाध्यता बनेको छ ।
नुवाकोटमा विषालु सर्पको बसोबास नभएको सरकारी तथ्यांकका आधारमा केन्द्रबाट औषधि नपठाउँदा अभाव भएको जिल्ला अस्पताल त्रिशूलीका सूचना अधिकृत भुवनराज केसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा सातामा नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङबाट सर्पको डसाइबाट बिरामी भएका ५ जनासम्म सेवा लिन आउने गरेका छन् । यहाँ औषधि नहँुदा उनीहरूलाई काठमाडौं पठाउने गरिएको छ ।
‘अन्य जिल्ला विशेष गरेर तराईबाट निर्माणका सामग्री ल्याउँदा विषालु सर्प भित्रिएको पाइएको छ,’ केसीले भने, ‘केन्द्रबाट माग भएकाले केही मात्रामा भएपनि अर्को महिनादेखि आउने आशा राखेका छौं ।’
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट औषधि ल्याएर जिल्ला अस्पतालसहित मुख्य–मुख्य स्वास्थ्य संस्थामा पठाउन तयारी मिलाइरहेको स्वास्थ्य कार्यालय नुवाकोका प्रमुख राममणि घिमिरेले जानकारी दिए ।