२१ जेठ २०८३, बिहीबार

जनसंख्या व्यवस्थापनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

जनसंख्या व्यवस्थापनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गर्नुभएको छ ।

विश्व जनसंख्या दिवसका अवसरमा बिहीवार दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसंख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिनुभएको हो ।

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्रसंघको आह्वानमा बिहीवार संसारभर जनसंख्या दिवस मनाइँदैछ । प्रधानमन्त्री ओलीले जनसंख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, ‘नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसंख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ ।’

उहाँले सन्देशमा बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै उहाँले शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसांख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गर्नुभएको छ ।

ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाउनुभयो । ‘कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ ।

बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रक्रियाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिबद्ध छ,’ सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले युवा जनशक्तिको बसाइँसराइका प्रवृत्तिलाई नियमन गर्दै कामको खोजीमा बाह्य मुलुक जान लालायित युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीँ परिचालन गर्ने सोचका साथ काम हुन थालेको सन्दर्भमा सरकार किशोरकिशारीको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय उमेर समूहका जनशक्तिले अधिकतम् योगदान पुर्‍याउन सक्ने वातावरण बनाउन तल्लीन रहेको पनि स्पष्ट गर्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्