
उदयपुर – जिल्लाको रौतामाई गाउँपालिका–१ र ८ मा पहिरोले २ घर पुरिँदा र बगाउँदा २ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमवार राति १ बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।
राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । घटनास्थलमा मंगलवार बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले बताए ।
यता, रौतामाई गाउँपालिका–१ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ । तामाङको घर पहिरोले बगाउँदा ९ वर्षका छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण उदयपुरमा हालसम्म झण्डै १ दर्जन घर पहिरोले बगाएका प्रहरी प्रमुख बुढामगरले बताए ।