०८ असार २०८३, सोमबार

रासायनिक मल नहुँदा किसान मारमा

रासायनिक मल नहुँदा किसान मारमा

दाङ – जिल्लामा रासायनिक डीएपी मलको अभाव भएको छ ।

रोपाइँको समयमा डीएपी मल नहुँदा किसान मारमा परेका छन् ।

किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गरे । उनले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत नहुने बताए ।

‘पहिले पानीको समस्या थियो, अहिले मलको समस्या, धान ब्याड तयार छ मल छैन, कसरी रोपाइँ गर्ने ?’ उनले भने । अहिले उनी मात्र होइन, यहाँका धेरै किसान रासायनिक मल नपाउँदा मर्कामा परेका छन् । उपमहानगरपालिका–१२ का किसान रामबहादुर घर्तीे पनि मल किन्नका लागि तुलसीपुर बजार आउने र रित्तै घर फकर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘यसपटक धान उत्पादनमा कमी आउने छ ।’

कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा लामो समयदेखि डीएपी मल नभएको बताए । उनले मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको पनि बताए । उनले डीएपी मल अहिले धेरै जिल्लामा नभएको र छिट्टै आपूर्ति हुने गरी सरकारले पहल गरिरहेको बताए ।

सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डीएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भएकाले पनि किसान मारमा परेका छन् ।

दाङमा हालसम्ममा ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिले यहाँका किसान रोपाइँ गर्नमा व्यस्त छन् । जिल्लामा कूल ३९ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्