
बुटवल – आफूहरूलाई खानेपानीका कर्मचारीको मिलेमतोमा पानी नदिएर अन्य वडातर्फ पठाइएको आरोप लगाउँदै बुटवल–८ का स्थानीयले खानेपानी संस्थान बुटवल कार्यालयका हाकिमलाई घेराउ गरेका छन् ।
आफ्नै वडामा जडान गरिएको बोरिङको पानी अरु वडामा पठाएको स्थानीयको आरोप छ । तत्काल खानेपानी उपलब्ध गराउन माग गर्दै स्थानीयले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख बुद्धरत्न महर्जनको कार्यकक्षमा घेराउ गरेका हुन् ।
बुटवल–८ मा २ हजार ५ सय घरधुरी छन् । बुटवल–८ सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ ।
समस्या समाधान गर्न सडक डिभिजन कार्यालयमा जडान गरिएको बोरिङ १ महिना अगाडिदेखि सञ्चालनमा आएपनि पानी सुख्खानगर क्षेत्रमा वितरण नगरी अन्यत्र जान थालेपछि स्थानीय आन्दोलिन भएर कार्यालय प्रमुखसमक्ष पुगेका हुन् ।
स्थानीय खगराज शर्माले खानेपानी ४/५ दिनमा १ पटक मात्र आउने र त्यो पनि धमिलो खान अयोग्य पानी आउन थालेपछि बाध्य भएर कार्यालय प्रमुखसँग समाधानको पहल गर्न आएको बताए । ‘हाम्रो वडाको पानी हामीलाई छैन । कहाँ गयो त्यो बोर्रिङको पानी कतै खानेपानीका हाकिम र अन्य कर्मचारीको मिलेमतोमा अन्यत्र ‘सप्लाई’ त भएको छैन भन्ने आशंका पनि देखियो,’ उनले भने ।
स्थानीय राधेश्यामराज राजभण्डारी पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर कार्यालय प्रमुखसँग आउनुपरेको बताए । खानेपानी संस्थाका कार्यालयका प्रमुख बुटवल बहुमुखी क्यापस वा रामगरस्थित जनता माविमा बोरिङ जडान गरी सुख्खानगरको खानेपानी समस्या समाधानका लागि आफू लागिरहेको बताए । त्यसको लागि आफूले जनप्रतिनिधिसँग पनि निरन्तर छलफल र संवाद गरिरहेको बताए ।