
काठमाडौं – स्पेनको कादिजमा रहेको एल पाल्मारमा दुईवटा गधालाई रंग लगाएर जेब्रा जस्तो बनाइएपछि पशुअधिकारवादीहरू आक्रोशित भएका छन् ।
जेब्रा बनेका ती गधाले घाँस चरिरहेको बेलामा एक स्थानीयले भिडियो खिचेर पशुअधिकारकर्मीहरूलाई शनिवार पठाएका थिए ।
भिडियो खिच्ने व्यक्तिले यो लज्जास्पद काम भएको अनि जनावरले न्याय पाऊन् भनी रेकर्ड गरेको बताए । पर्यटक तान्न्का लागि गधालाई जेब्राको रंग पोतिएको हो ।
जनावरहरूलाई बिहान घाँस चर्ने ठाउँमा ल्याइएको अनि चर्को घाममा उभ्याएर रंग पोतिएको र छायाँमा जान नदिइएको पाइएको छ ।
भिडियो खिचेर उजुरी गर्नेले पशुअधिकारवादी संस्था मदर अर्थ प्ल्याटफर्मलाई यसको जानकारी दिएपछि स्थानीय अधिकारी र सिभिल गार्डको ध्यानाकर्षण गरिएको थियो ।
कादिजस्थित कृषि तथा वाणिज्य कार्यालयले सोमवार यसको अनुसन्धान शुरू गरिएको बताए ।
चिरिङगुइतो नामक एउटा बारले यो जनावरलाई शोषण गरेको हो । उक्त बार बिहे र अन्य निजी समारोहका लागि मात्र खोलिन्छ ।
बारमा भएका पार्टीका विषयमा पहिले पनि उजुरीहरू पर्ने गरेका छन् ।
एजेन्सी